s

श्रीमानबाटै बेचिएकी कुन्ता, कसरी उम्कन सफल भइन ?

गगन अयडी
 
बाजुरा जिल्ला छेडेदह गाउँपालिका– ५ टुडा घर भएकी २३ वर्षीया कुन्ता कुमारी बुढालाई नेपालबाट भारतको नयाँ दिल्लीको एक अस्पतालमा उपचारका लागि उनका श्रीमानले लगेका थिए । उपचार गर्न गएकी कुन्ता कसरी  दलालको फन्दामा परिन ? 
 
कुन्ताले ६ महिला अघि छेडेदह गाउपालिका–१ का २५ वर्षका शुके रोकाया सँग प्रेम विवाह गरेकी थिइन । विवाह भएको दुई महिना नपुग्दै बिरामी परेकी कुन्तालाई उनकै श्रीमान शुके रोकायाले उपचारको बहानामा नयाँ दिल्लीमा टेम्पो चालकको जिम्मा लगाएर लापत्ता भएको कुन्ताले बताइन ।
 
विवाह भएको केही समयपछि एकअर्कामा मनमुटाव सुरु भएको थियो । कुन्ताले प्रहरी चोकीमा उजुरी समेत गरेकी थिइन । उनीहरुबीचको विवाद इलाका प्रहरी कार्यालय डोगढीमा मेलमिलाप भएको डोगढी प्रहरी कार्यालयले जानकारी दियो ।
 
उपचारको बहानामा परदेश लगेर बेचेको र संयोगले फिर्ता हुन सफल भएको सुनाउँदै उनले भनिन्, ‘नर्कमा पुर्याएको थियो, कसो कसो बचेर आएँ ।’ उनले अघि थपिन, ‘टेम्पो चालकसँग छोडेर उ फरार भएको रैछ, मेरा श्रीमान् खै भनेर सोध्दा उनी घर गइसके तिमी मेरो घरमा जानु पर्छ । तिम्रो उपचार सबै म गर्छु भन्यो ।’
 
टेम्पो चालकसित धेरै रोइकराई गरेपछि पुलिसले थाहा पाएर उनको उद्दार भएको कुन्ता बताउँछिन् । कुन्ताका परिवारले फोनमा हालखबर सोध्दा रोकायाले कुन्ताको राम्रो अस्पतालमा उपचार भइरहेको जवाफ दिने गरेको पिडितका दाइ शेर बुढाले बताए ।
 
कुन्ताले आँखा भरी आँसु बनाउँदै आफू दलालको पन्जाबाट उक्कन सफल भएको यसरी सुनाइन, ‘आफूलाई त्यहाँको भाषा नआउँने तर, रुदै सबै भने । आफन्त यहाँ छन् भन्ने ठाउँको नाम थाहा थियो । पुलिस कसरी कसरी खोजेर आफन्त कहाँ पुर्याइ दिए । आफन्तको साथ नेपाल आएँ ।’ उनले अघि थपिन ‘सपना जस्तो लाग्छ । के–के न होला भनेर भागेर बिहे गरे । यस्तो मान्छे रैछ ।’
 
नेपाल फर्किएपछि उनले जिल्ला प्रहरी कार्यालय बाजुराको इल्लाका प्रहरी कार्यलयमा छेडेदहमा उजुरी दिएको बताइन् । उनका आफन्तले आरोपीलाई नेपाल झिकाइ कानूनी कारवाहीका लागि दबाव दिएका छन् । छेडेदह गाउँपालिका उपप्रमुख कुन्ती साउँद (बुढाले) त्यस्तो व्यक्तिलाई जहाँ भएपनि तुरुन्त कानूनी कारवाही गरिने बताईन ।
 
Published on: 17 September 2017 | Naya Patrika

Back to list

;