s

श्रीमान् फर्काइदिन मालतीको आग्रह

अर्जुन राजवंशी
 
कुवेतमा आजीवन कारावासको सजाय पाएका श्रीमानको रिहाइका लागि पहल गरिदिन झापा शिवसताक्षी ७ चन्द्रडाँगीकी मालती ढकालले सरकारसँग गुहार मागेकी छन् ।
 
६ महिने छोरा र ६ वर्षकी छोरी तथा सासूससुरालाई स्याहार्ने जिम्मेवारीसहित घर व्यवहार थामेर श्रीमानलाई विदेश पठाएकी मालती श्रीमानको आजीवन कारावासको सजायबाट मूच्र्छित छिन् । उनको बिलौना छ, ‘मेरा श्रीमान् निर्दोष हुनुहुन्छ । उहाँलाई कसरी हुन्छ सरकारले घर फर्काइदिनुपर्‍यो ।’ मालतीका श्रीमान् राजु ढकाल एक वर्षदेखि कुवेतको सुलेवियास्थित जेलमा आजीवन कारावासको सजाय काटिरहेका छन् । राजुलाई त्यहाँको अदालतले लागूऔषध प्रयोगकर्ता तथा कारोबारीअन्तर्गतको मुद्दामा सजाय सुनाएको हो ।
 
राजु केएफसीमा डेलिभरी ब्वाइको काम गर्थे । चार वर्ष केएफसीमै काम गरेका राजु ०७२ चैतमा छुट्टीमा आएर ०७३ जेठ २ गते पुन: कुवेत गएका थिए । बुबा लक्ष्मण ढकालका अनुसार छुट्टी मनाएर गएको दुई महिनामै उनलाई प्रहरीले पक्राउ गरेको थियो । एक जना पाकिस्तानी नागरिकले उनलाई झुक्याएर औषधि भनी लागूऔषध बोक्न दिएका थिए । पाकिस्तानी नागरिकले औषधि बोकिदिएबापत कम्पनीले दिएकोभन्दा दोब्बर रकम दिने आश्वासन दिएका थिए । पैसाको लोभमा परेका राजुले ३/४ दिन औषधि बोक्ने काम गरेपछि उक्त सामान औषधि नभएर लागूऔषध भएको थाहा पाएका थिए ।
 
उनले उक्त कुरा तत्कालै आफ्ना साथीहरूलाई सुनाएका थिए । साथीहरूले लागूऔषधसम्बन्धी कुवेतमा कडा कानुन भएको बताएपछि राजुले उक्त औषधि नबोक्ने निर्णय गरेका थिए । सोही अनुसार उनले पाकिस्तानी नागरिकलाई आफूलाई पैसा पनि नचाहिने र औषधि पनि नबोक्ने निर्णय सुनाएका थिए । लागूऔषध बोक्न इन्कार गरेलगत्तै पाकिस्तानी नागरिकको सुराकका आधारमा राजुलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध लागूऔषध प्रयोगकर्ता तथा कारोबारी अन्तर्गतको मुद्दा चलाएको थियो । उक्त मुद्दामा त्यहाँको अदालतले गत कात्तिक ११ गते आजीवन कारावासको सजाय सुनाएको थियो ।
 
‘छोराछोरीको भविष्यका लागि र साहूको ऋण चुक्ता गर्न छोरालाई विदेश पठाएका थियौं’, ६७ वर्षीय बुबा लक्ष्मणले भने, ‘अब त, छोरासँग भेट पनि नहुने भयो । आजीवन कारावासको सजाय काटेर आउँदा म बाँचिरहन्छु जस्तो लाग्दैन ।’ मुटुको रोगबाट पीडित लक्ष्मणले सरकारले कुवेतस्थित राजदूतावासमार्फत कूटनीतिक पहल गरे छोरा चाँडै घर फर्किएर आउने आशा व्यक्त गरे ।
 
आजीवन कारावासको सजाय पाएको थाहा पाएलगत्तैदेखि काठमाडौंस्थित कन्सुलर कार्यालय र वैदेशिक रोजगार प्रवद्र्धन केन्द्रसँग गुहार मागिरहेको श्रीमती मालतीले बताइन् । ‘उहाँलाई फर्काउन हाम्रो काबुबाहिरको कुरा हो । सरकारले यो केसलाई गम्भीर रूपमा लिएन भने मेरो परिवार र दुई छोराछोरीको बिचल्ली हुन्छ,’ मालतीले भनिन्, ‘मेरो अनुरोध छ हजुर सबैलाई । मलाई केही चाहिँदैन । मेरो श्रीमानलाई चाँडोभन्दा चाँडो घर फर्काइदिनुस् ।’
 
Published on: 16 July 2017 | Kantipur

Back to list

;