s

श्रीमती हत्या आरोपमा मलेसियाबाट फर्केलगत्तै पक्राउ

सुनसरी — मलेसियाबाट फर्केको तीन साता नबित्दै प्रहरीले सुनसरीको इनरुवा ४ बस्ने ३५ वर्षीय विनोदकुमार खत्वेलाई पक्राउ गरेको छ । चार वर्षअघि ०७४ जेठ ४ गते २३ वर्षीया श्रीमती अनितादेवी खत्वेको हत्या गरेको आरोपमा उनलाई गत सोमबार साँझ पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी प्रभुप्रसाद ढकालकाअनुसार तत्कालीन समयमा अनिताको मृत्यु विष सेवन गरेर आत्महत्या भएको भनेर विनोद बच्न सफल भएका थिए । मृत्यु भएको घटनास्थलमा अनिताको मुखमा विषादि देखिएको थियो । श्रीमतीको मृत्यु भएलगतै उनी मलेसिया गएका थिए । तर शव पोस्टमार्टम रिपोर्टमा विष सेवनले नभएर कुटपिटबाट मृत्यु भएको पुष्टि भएपछि प्रहरीले विनोदलाई फरार सूचीमा राखेको थियो ।

एसपी ढकालले भने, ‘०७० सालमा विनोद मलेसिया वैदेशिक रोजगारमा गएको देखिन्छ । प्रारम्भिक अनुसन्धानअनुसार ०७४ मा बिदामा नेपाल आए । उनले चार वर्षको अवधिमा करिब आठ/नौ लाख रुपैयाँ कमाएर श्रीमतीको बैंक खातामा पठाएको तर घरमा आउँदा खातामा केही रकममात्र बाँकी रहेको थाहा पाएपछि लोग्नेस्वास्नीबीच पैसाकै विषयमा झगडा र कुटपिट भएको देखिन्छ ।’

प्रहरीका अनुसार अनिताले उक्त रकम घरायसी खर्च भएको र केही रकम ससुराको नाममै राखेको बताउँदै आएकी थिइन् । पैसाकै विषयमा विवाद चर्किदै जाँदा कुटपिटबाट अनिताको मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रीमतीको मृत्युलाई विष सेवन गरेर आत्महत्या भएको जस्तो देखाएर उनी मलेसिया गए पनि पोस्टमार्टम रिपोर्टले विष सेवन गरी आत्महत्या नभएर कुटपिटबाट मृत्यु भएको देखाएकाले उनलाई प्रहरीले निगरानीमा राखेको थियो । मलेसियाबाट फर्केलगत्तै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Published on: 25 August 2022 | Kantipur

Link

Back to list

;