s

श्रीमान विदेशिएपछि कखरा सिक्दै

उपेन्द्र लामिछाने

भारदेउकी ३५ वर्षीया कल्पना घलानलाई पढाइको चटारो छ। उनका श्रीमान कान्छा घलान ६ महिनाअघि रोजगारीका लागि मलेसिया गएका छन्। श्रीमानले पठाएको पैसाको हिसाब राख्न मुस्किल परेपछि उनी स्वरोजगार कक्षामा जोड-घटाउ सिकिरहेकी छिन्। 'पहिला पढ्न पाइनँ,' उनले भनिन्, 'अहिले पैसाको हिसाब किताब राख्न मुस्किल परिरहेको छ।' 

श्रीमानले पैसा पठाउँदाको कोड नम्बर टिप्नसमेत अरुको सहयोग लिनुपर्ने भएपछि पढ्न सुरु गरेको उनी बताउँछिन्। 'मोबाइल चलाउन पनि अलिअलि अंक जान्नु पर्यो। त्यही भएर जता पुगे पनि साँझको कक्षा छुटाउँदिन,' उनले भनिन्। सँगै रहेकी सुनिता भुलोनले पनि अहिले पढाइको आवश्यकता महसुस गरेकी छिन्। 'पढ्न-लेख्न जानेपछि उताबाट पठाउनु भएको पैसाले सानो-तिनो व्यापार गर्ने विचार छ,' उनले भनिन्, 'उहाँले पनि राम्रोसँग पढ्नु भन्नु भा'छ।' तीन वर्षअघि मलेसिया गएका श्रीमानले पठाएको पैसा बचत गर्न नसकेको उनी बताउँछिन्। 'घरमा राखे खर्च भएर सकिने रहेछ। त्यही भएर सानोतिनो व्यापार गर्ने सोच बनाएकी छु,' उनले योजना सुनाइन्।

भारदेउकी निरमाया लोप्चनको घरमा त सामान्य लेखपढ गर्न जान्ने कोही पनि छैनन्। 'अक्षर चिन्न थालेपछि अहिले केही सजिलो भएको छ ,' चार महिनादेखि साक्षरता कक्षामा पढिरहेकी उनी भन्छिन्, 'अहिले हिसाब किताब आफैं गर्न थालेकेा छु।'

सातदोबाटोबाट करिब २० किलोमिटर पूर्वको यस गाउँका तीन सय घरधुरीका अधिकांश युवा मलेसिया जाने गरेका छन्। 'हामी यहाँका महिलालाई बचत गर्न र लगानी गर्न सिकाउँदै छौं,' शिक्षिका सरिता तामाङले नागरिकसँग भनिन्। विदेशिएका युवाले पठाएको रेमिटेन्सको सदुपयोग भएमा विदेशिएकाहरू फर्किएपछि यही रोकिने उनको विश्वास छ। 

'मलाया'मै बातचित

साताअघि क्वालालम्पुरबाट नेपाल आएका मलेसियाली नागरिक खो टोरेन्स शनिबार बिहान ललितपुरको चौघरेडाँडा पुग्दा अचम्ममा परे। पूर्वी मलेसियाबाट घुम्न आएका यी पर्यटकले राजधानीनजिकको दुर्गम गाउँमा मलाया भाषामै बात मारे।

'गाउँमा जति घर घुमें, घरमा कोही न कोही मलेसिया गएका रहेछन्,' उनले भने, 'चाडपर्व मनाउन घर फर्केका थुप्रैसँग भेट भयो। आफ्नै भाषामा कुरा गर्न पाएँ।' उनीहरूसँगको कुराकानीबाट निकै प्रभावित भएको उनले सुनाए। दुई-तीन वर्षमै उनीहरूले मलाया राम्रोसँग सिकेको उनले बताए।

उनीसँग कुरा गर्न पाउँदा स्थानीय युवा पनि खुुसी देखिन्थे। 'उनलाई भेट्दा मलेसियाको झल्को आयो,' तीन वर्ष क्वालालम्पुरमा काम गरेर फर्केका शान्तलाल लामाले भने, 'उताको अवस्थाबारे केही कुरा गरे।'

नेपाल देखेर प्रभावित भएका उनले स्थानीय युवाहरूसँग विदेशिनुको कारण जान्न खोजे। स्वदेशमा रोजगारी नपाएकाले विदेशिनु बाध्यता भएको उनीहरूको जवाफ थियो।

गाविसका अधिकांश युवा पटक-पटक मलेसिया जाने गरेका छन्। 'एकपटक कमाएको ऋण तिर्दै सकिन्छ,' स्थानीय अशोक थिङले भने, 'बचत गर्न दोहोर्याकएर जानैपर्छ।' विदेशबाट कमाएर ल्याएको रकमको देशमा सही सदुपयोग नहुन्जेल अर्काको देशमा जति काम गरे पनि काम नलाग्ने उनको बुझाइ छ। 'कमाएको के भन्ने? बाचेका छौं,' सुरेश लामाले मलेसियाली नागरिकसँगलाई सुनाए, 'त्यही भएर तिम्रो देशमा गइरहेका छौं।'

Published on: 5 November 2012 | Nagarik

Back to list

;