s

शरणार्थीमा ‘फजुल खर्च’ बढ्यो

भुटानी शरणार्थीले प्राप्त गर्ने रेमिट्यान्सको फजुल खर्च गर्ने क्रम बढेको छ । आफन्तले विदेशबाट पठाएको रकम खर्च गर्ने नाममा मदिराका प्रयोगकर्ता बढ्दा घरेलु हिंसा पनि बढेको छ ।

तेस्रो देश पुनर्वासमा भएका आफन्त र साथीहरूले मासिक रूपमा ठूलो मात्रामा रेमिट्यान्स पठाउने गरेका छन् । 'एक दुईपटक प्राप्त भएको रेमिट्यान्सले आधारभूत आवश्यकता पूरा गर्छन्,' शरणार्थीका एक सामाजिक कार्यकर्ता भन्छन्, 'तेस्रो पटकदेखि पुरुषहरू मदिरामा र महिला ब्युटीपार्लरमा अत्यधिक रकम खर्च गर्छन् ।'

मनी ट्रान्सफर सञ्चालकहरूका अनुसार बेलडाँगीमा मात्र दैनिक २० लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रन्छ । शरणार्थीहरूका अनुसार एक जना शरणार्थीलाई पुनर्वासमा गएका आफन्त र साथीहरू गरेर १० जनासम्मले खर्च पठाइदिने गरेका छन् । 'मितिनीले पहिलोपटक पठाएको खर्चले ग्यासचुलो किनें,' बेलडाँगी ३ की दमकला तिवारी भन्छिन्, 'माइती र साथीहरूले पठाइदिएको पैसा रामरमाइलोमै सकिने रहेछ ।'

रेमिट्यान्सको प्रवेशसँगै घरेलु झैझगडा बढेका अभिलेख शिविरमा छन् । बेलडाँगी-२ को मेलमिलाप केन्द्रमा सोमबार सेक्टर 'जी' का टीकाराम राईले मतपान गरी श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी परेको छ । राईका आफन्त अमेरिका र अस्ट्रेलिया पुगेका छन् । उनीहरूले सब्जी खाने खर्च भनेर पठाइदिएको रेमिट्यान्सलाई मदिरामा प्रयोग गर्दा त्यसको सिकार श्रीमती भएकी छन् । 'उताबाट पठाएको पैसाले सागसब्जी त परै जाओस्, मदिरा खान पनि पुगको छैन । आफूले दैनिक यातना सहनु पर्दा त पैसा नै नपठाइदिए हुन्थ्यो जस्तो लाग्छ,' नाम भन्न नचाहने एक महिलाले भनिन् ।

रेमिट्यान्सका कारण श्रीमती मात्र होइन, कतिपय अवस्थामा श्रीमान् पनि पीडित बनेका छन् । बेलडाँगी-२ कै सनमाया सार्कीले मदिरा खाएर श्रीमान् हस्तबहादुरलाई बारम्बार मार्ने धम्की दिएपछि उनी पनि मेलमिलाप केन्द्रको शरणमा पुगेका छन् । 'मान्छेलाई पैसा भएपछि अमत्याइँ आउँदोरहेछ,' हस्तबहादुर भन्छन्, 'माइतीहरूले पठाइदिएको पैसोले मदिरा खायो अनि मलाई धम्क्यायो ।' मेलमिलाप केन्द्रका संयोजक हर्क गुरुङका अनुसार मदिरा खाएर घरझगडा भएका मुद्दा दैनिक आउने गरेका छन् । 'आम्दानीको अन्य स्रोत देखिँदैन,' गुरुङ भन्छन्, 'शरणार्थीले गर्ने खर्चको स्रोत भनेको रेमिट्यान्स नै हो ।' बेलडाँगी-२ सेक्टर 'आइ' का सेक्टर हेड दीपेन्द्र बुढाथोकीका अनुसार रेमिट्यान्स भित्रने क्रम दैनिक रूपमै जस्तो बढिरहँदा शरणार्थीका लगानीका क्षेत्र साँघुरिरहेका छन् ।

बेलडाँगीका तीनवटा शिविरको उत्तरदक्षिण लम्बाइ करिब २ किलोमिटरजति छ । यो बीचमा करिब २ सयजति साना होटल छन् । तीमध्ये अधिकांशको व्यापार मदिरामै टिकेको छ । दृष्टि इन्टरप्राइजेजका प्रोप्राइटर योगेश सुब्बाका अनुसार दमकका सातवटा डिलरबाट मासिक करिब १ करोड ५० लाख रुपैयाँ बराबर मदिरा बेलडाँगीमा बिक्री हुन्छ । 'स्थानीय व्यापारी र होटलहरूले लैजान्छन् तर अधिकांश ग्राहक शरणार्थी नै हुन्,' सुब्बाले भने । अहिले होटल सञ्चालन गरिएका अधिकांश ठाउँमा चार वर्ष अघिसम्म धागो कात्ने चर्खाहरू थिए । तिनमा शरणार्थी मजदुरहरू सस्तो ज्यालामा काम गर्थे । तेस्रो देश पुनर्वास कार्यक्रम सुरु भएपछि आफन्तले रकम पठाउन सुरु गर्नासाथ शरणार्थीले स्ास्तो ज्यालाको काम छोडे ।

'दुई वर्षजति रित्ता गोदाम भएका टहराहरूमा होटल फस्टाएका छन्,' भीम मनी ट्रान्सफर बेलडाँगीका सञ्चालक भीम भट्टराई भन्छन्, 'शरणार्थीको संख्या जति घट्दै छ, यहाँ आउने रकम उति बढ्दै छ ।' शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगका अनुसार ६१ हजार ८ सय १७ शरणार्थी तेस्रो देश पुनर्वासमा गइसकेका छन् ।

Published on: 3 April 2012 | Kantipur

Back to list

;