s

श्रममन्त्री गोकर्ण विष्टको निर्देशन : दरबन्दीविनाका कर्मचारीको हाजिर नगराउनू

पुष्प ढुंगाना

दरबन्दीबाहेकका कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्देशन दिएका छन् ।  विभागको ताहाचल कार्यालयमा दरबन्दीबाहेकका कर्मचारी १४ महिनादेखि विनातलब काम गरिरहेको समाचार बिहीबार नयाँ पत्रिकामा छापिएपछि मन्त्री विष्टले ती कर्मचारीलाई हाजिर तत्काल नगराउन निर्देशन दिएका हुन् । मन्त्रालयले ताहाचल कार्यालयलाई मन्त्रीको निर्देशन जानकारी गराइसकेको छ ।

विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले नयाँ पत्रिकासँग भने, ‘मन्त्रालयको निर्देशनअनुसार दरबन्दीमा नरहेका कर्मचारीको हाजिरी शुक्रबारबाट स्वतः रोकिन्छ । त्यसको निर्देशन मन्त्रालयबाट सोझै सम्बन्धित कार्यालयमा गइसकेको छ । यस विषयमा विभागले थप निर्देशन दिनेभन्दा पनि प्रथम श्रेणीका कर्मचारी भएकाले मन्त्रालयले सोझै हेर्ने गरेको छ ।’
 
विभागको ताहाचल कार्यालयमा दरबन्दीविना काम गरिरहेका १६ कर्मचारी छन् । उनीहरूलाई स्थानीय तहमा खटाइए पनि पहुँचका आधारमा कार्यालय छाड्न मानिरहेका छैनन् । राजनीतिक दबाबका कारण कार्यालयमा बढी भएका कर्मचारीलाई अन्यन्त्र खटाउन नसकिएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो ।
 
गत असोजमा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि विभिन्न कार्यालयका कर्मचारीको काजसरुवा गरेको थियो । त्यसक्रममा विभागको ताहाचल कार्यालयका कर्मचारी पनि सरुवा भएका थिए । तर, उनीहरूले सामान्यको निर्देशन मानेनन् ।
 
श्रम विभाग आर्थिक चलखेल र भ्रष्टाचार बढी हुने कार्यालयको रूपमा बदनाम छ । वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति दिने यो कार्यालयमा घुस लेनदेन चल्ने घटना वेलावेला सार्वजनिक हुने गरेको छ । श्रम स्वीकृतिदेखि एयरपोर्टसम्मको सेटिङमा यहाँका कर्मचारीको सन्जाल छ । त्यसैले यो कार्यालयमा आफूअनुकूलका कर्मचारी राख्न मन्त्रालयका उच्च अधिकारीकै रुचि रहने गरेको छ ।
 
शुक्रबारदेखि हाजिर गर्न नपाउने कर्मचारी
 
नायब सुब्बा : लोकेन्द्रबहादुर रावल, कुमारबहादुर कटवाल, रवीन्द्र घिमिरे, राजन घिमिरे, गौरीकुमारी कार्की, लक्ष्मण गुरागाईं, केदार घिमिरे, यज्ञप्रसाद आचार्य, यज्ञबहादुर ओली, विद्याप्रसाद जैसी, सुमन पौडेल, सधुकर डाँगी
 
कम्प्युटर अधिकृत : डम्बरबहादुर विश्वकर्मा, भवानी थपलिया
 
कार्यालय सहयोगी : रञ्जु दाहाल, तुलसीमान मर्हजन
 
Published on: 23 March 2018 | Naya Patrika

 

Back to list

;