s

श्रममा आधारित राहत कार्यक्रम

सरिता श्रेष्ठ

 

धादिङ, - लकडाउन लम्बिदै जाँदा दैनिक ज्यालामजदुरी गरेर छाक टार्ने परिवारहरू मारमा परेका छन् । स्थानीय तहहरू आफ्नो क्षेत्रका विपन्न नागरिकहरूलाई राहत वितरण गरिरहेका छन् । निश्चित ठाउँमा बोलाएर राहत वितरण भइरहेका बेला धादिङको एउटा स्थानीय तहले भने नयाँ अभ्यास थालेको छ । नेत्रावती डवजोङ गाउँपालिकाले श्रममा आधारित रोजगार कार्यक्रम गरेर राहत वितरणमा नयाँ अभ्यास थालेको हो ।

विपन्न परिवारका एक सदस्यलाई श्रममा लगाएर राहत वितरणको नौलो अभ्यास थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यले बताए । ‘सरकारले तोकेबमोजिम राहत प्याकेज वितरण एक चरणमा गरिसक्यौं,’ उनले भने, ‘त्यो राहतले मात्र गुजारा चलाउन कठिनाइ हुने परिवालाई लक्षित गरी खाद्यान्न संकट टार्न आपतकालीन रोजगारका लागि श्रममा आधारित रोजगार कार्यक्रम सञ्चालन गरेका हौं ।’

पाँचवटै वडाबाट मजदुरी गर्ने र विपन्न परिवार छनोट गरी प्रतिपरिवार एकजनालाई १० दिन काममा खटाइएको छ । सडक मर्मत सुधार, खानेपानी मर्मत सुधार तथा मुहान सरसफाइ, चौतारा निर्माण, कुलो मर्मत तथा सुधारमा उनीहरू सहभागी भइरहेका छन् । सम्बन्धित वडामा काम पूरा भए अर्को वडामा समेत काम गर्न पाइनेछ । वडा १ मा ३५ जना, २ मा ३० जना, ३ मा २७ जना, ४ मा ३५ जना र ५ मा ३५ जना गरी जम्मा एक सय ६२ जनालाई तत्काल आवश्यक देखिएकाले रोजगारी दिइएको छ । रोजगारी दिँदा सार्वजनिक काम पनि हुने मजदुरी गर्नैपर्ने परिवारको खाद्यान्न संकट टार्न पनि सहज हुने बताइएको छ ।

खाद्यान्न वितरण गर्दा वास्तविक पीडितहरू मारमा पर्ने र हुनेखाने पनि माग्न आउने भएका कारण रोजगारीको सिर्जनाका लागि यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष शाक्यले बताए । ‘हामीले पहिलो चरणमा वितरण गरेको खाद्यान्नले मात्रै पर्याप्त हुँदैन, लकडाउन लम्बिँदै जाँदा मजदुरी गर्नेका लागि यो कार्यक्रमले सघाउ पु¥याउनेछ,’ अध्यक्ष शाक्यले भने, ‘त्यसैले कार्यपालिका बैठकले नै श्रम गरेबापत एक दिनमा सात सय ५० का रुपैयाँ दरले १० दिनमा ७५ सय पाउनेगरी रोजगारी दिलाउने निर्णय गरेका हौं ।’

पाँचवटै वडाभित्र सामाजिक दूरी कायम गरी श्रममा आधारित राहत वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिकाका सूचना अधिकृत कृष्णबहादुर पौडेलले बताए । ‘जनप्रतिनिधि र कर्मचारीको प्रत्यक्ष निगरानीमा दैनिक आठ घन्टा काममा खटाइरहेका छौं,’ उनले भने, ‘श्रममा आधारित ज्यालादारी कार्यक्रमबाट १० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम र एक्सन नेपालसँगको साझेदारीमा गरी झन्डै २६ लाखबराबरको कार्यक्रम छ ।’ असहाय, गरिब, अपांगता भएका र ज्येष्ठ नागरिकलाई भने दोस्रो चरणको राहत वितरण गरिने उनले बताए ।

लकडाउनको पूर्ण पालनमा खटिएको गाउँपालिकाले पहिलो चरणमा क्वारेन्टाइनमा राखेकालाई बिदाइ गरेपछि सबैलाई होम क्वारेन्टाइनमा बसाएको छ । त्यहाँ माइती–मावली, आफन्त भेटघाटमा आउजाउ बन्द गराएको छ । कृषिको काम गर्न पनि सकेसम्म एकापरिवार र अर्मपर्म गर्नैपरे थोरै संख्यामा खेताला बोलाएर काम गर्न भनिएको छ । उक्त गाउँपालिकाका दुबईबाट फर्केका युवा नेपालमा कोरोना भाइरस पोजेटिभ देखिने तेस्रो व्यक्ति हुन् । उनी अहिले कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।

Published on: 4 May 2020 | Nagarik

Link

Back to list

;