s

‘श्रमको खोजीमा रहेका युवाका लागि रोजगार मेला कोसेढुङ्गा’

काठमाडौँ, जेठ २९ गते । बागमती प्रदेशमा दुई दिन (२९ र ३० गते) सम्म चल्ने श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको जानकारी दिइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशमा दुई दिनसम्म चल्ने श्रमाधान रोजगारी मेलाबारे जानकारी गराउने उद्देश्यले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारेमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव एवं बागमती प्रदेश श्रमाधान रोजगार मेलाका संयोजक डम्बरबहादुर सुनुवारले श्रमको खोजीमा रहेका युवाका लागि रोजगार मेला कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

उहाँले निजी र साझेदारी क्षेत्र बढाएर लैजाने सिप विकास, आन्तरिक र वैदेशिक रोजगारीमा गुनासो, चासो, सुझाव सङ्कलन गर्ने र त्यसको समाधानका लागि मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोषका बुथमार्फत समाधान खोजी गरिने जानकारी दिनुभयो । मेलाको मुख्य उद्देश्य कसरी निजी क्षेत्रसँग मिलेर रोजगारी सिर्जना गर्ने र आन्तरिक रोजगारीलाई कसरी बढावा दिन सकिन्छ भन्नेमा नै केन्द्रित हुने पनि संयोजक सुनुवारले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा ललितपुरको पाटन संयुक्त क्याम्पसमा दुई दिनसम्म चल्ने श्रमाधान तथा रोजगार मेलामा श्रमाधान अवधारणाको सम्बन्धित प्रदेशमा रहेका रोजगारदाता उद्योग/प्रतिष्ठान, रोजगारदाता कम्पनी रोजगारीको खोजीमा रहेका युवा र श्रमका जानकार विज्ञसहितको सहभागिता रहने जानकारी दिइयो । साथै मेलामा रोजगारदाता उद्योग/प्रतिष्ठान, बैङ्क वित्तीय संस्थाका फरक फरक स्टल राखिने र जसबाट सबै तहका श्रमिक र रोजगारदाताका आवश्यकताको विषयमा छलफलका कार्यक्रम गरिने पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

मन्त्रालयका अनुसार मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालिमप्रदायक संस्थाको पनि सहभागिता रहने छ ।

यस्तै सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल व्यवसायी महासङ्घलगायतको सहभागिता रहने छ ।

यस्तै मेलामा अन्तर्राष्ट्रिय रोजगार : कानुनी प्रक्रिया र मनोवैज्ञानिक प्रभाव विषयसहित वैदेशिक रोजगारीका लागि भिसा, श्रम स्वीकृति र श्रम कानुनको प्रक्रियाको समेत जानकारी दिइने जनाइएको छ ।

मेलाका संयोजक सुनुवारका अनुसार मेलामा स्वदेशमा नै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रूपमा स्थापित गराउन मेला महत्वपूर्ण भूमिका खेल्ने छ । मेलाले रोजगारी मात्रै होइन रोजगारीका लागि ज्ञान सिप आर्जन गरेका युवाको सिपमा निखारता कसरी ल्याउने भन्ने विषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले दैनिक बिदेसिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्वपूर्ण भएको बताउनुभयो । बागमती प्रदेश श्रमाधान रोजगार मेलाको आयोजक श्रम मन्त्रालय ललितपुर महानगरपालिकामा रहे पनि संयोजन भने नेपाल घरेलु तथा साना उद्योग महासङ्घले गरेको छ ।

सहआयोजकका रूपमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी रहेका छन् । बुधबारसम्म सञ्चालन हुने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहने छन् ।

Published on: 11 June 2024 | Gorkhapatra

Link

Back to list

;