s

श्रमिकले पाए वैदेशिक रोजगारीका क्रममा ठगी भएको १३ करोड ८४ लाख

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा ठगी भएको १३ करोड ८४ लाख ४५ हजार रूपैयाँ श्रमिकहरूले पाएका छन्।

यो अवधिमा कुल तीन हजार ४९५ उजुरी परेका थिए। जसमध्ये फर्छ्यौट संख्या एक हजार ५६० छ। उनीहरूको कुल मागदाबी कति थियो भन्ने तथ्यांक भने विभागले राखेको छैन। यस्तो तथ्यांक विभागले तयार गरिरहेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए।

गत साउनदेखि पुस मसान्तसम्म विभागको उद्धार राहत तथा समन्वय शाखामा ६९० उजुरी परेका थिए। यो अवधिमा विदेशमा समस्यामा परेका ४५ जनाको उद्धार गरिएको विभागले जनाएको छ।

१७२ जनाले क्षतिपूर्ति पाएका छन्। ७९ उजुरी दुई पक्षबीच आपसी सहमतिमा फर्छ्यौट भएको विभागको भनाइ छ।

६५ वटा उजुरी फिर्ता भएको छ। एउटा उजुरी तामेलीमा गएको विभागको तथ्यांकमा उल्लेख छ।

यो शाखामा परेका कुल ६९० उजुरीमध्ये ३६२ फर्छ्यौट भएको विभागको भनाइ छ। उनीहरूलाई एक करोड ३९ लाख ४६ हजार क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ।

त्यस्तै विभागको मुद्दा तथा अनुसन्धान शाखामा एक हजार १३० उजुरी परेका छन्। जसमध्ये १९१ मुद्दा मिलापत्र भएका छन् भने ८४ मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर भएका छन्। यो शाखामा परेका उजुरीअन्तर्गत ११ करोड, दुई लाख ८९ हजार ६०० रूपैयाँ क्षतिपूर्ति पीडित पक्षलाई उपलब्ध गराइएको उल्लेख छ।

त्यस्तै प्रहरी शाखामा एक हजार ६७५ उजुरी परेका थिए। जसमध्ये ६५ मिलापत्र गरिएको र ८५८ फर्छ्यौट गरिएको उल्लेख छ। फर्छ्यौट हुन ७५२ उजुरी बाँकी छन्। यो शाखामार्फत् एक करोड ४२ लाख ९ हजार ४०० रूपैयाँ रकम असुलउपर गरिएको उल्लेख छ।

६ महिनामा तीन लाख ४३ हजार बढीले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा नयाँ तथा पुनः गरेर तीन लाख ४३ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्यांकअनुसार नयाँ व्यक्तिगत श्रम स्वीकृति लिने पुरूषको संख्या ३२ हजार ७७२ छ। ९ हजार ४११ महिलाले यस्तो श्रम स्वीकृति लिएका छन्।

म्यानपावरमार्फत् नयाँ श्रम स्वीकृति लिने पुरूषको संख्या एक लाख ३९ हजार ३६६ छ। १९ हजार ६२० महिलाले म्यानपावरमार्फत् नयाँ श्रम स्वीकृति लिएका छन्।

त्यस्तै एक लाख २५ हजार ३३४ पुरूष र १० हजार १०१ महिलाले पुनः श्रम स्वीकृति लिएका छन्।

सरकारी संयन्त्र (जिटुजी)मार्फत् ६ हजार ३६७ पुरूष र ४३३ महिला दक्षिण कोरिया पुगेका छन्।

Published on: 12 February 2024 | Setopati

Link

Back to list

;