s

श्रमिकलाई सुरक्षा कोषमा आबद्ध गराउन एनआरएनए युएईले सुरु गर्‍यो छलफल

गैरआवासीय नेपाली संघ युएईले नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा छलफल अभियान सुरु गरेको छ। एनआरएनए युएईको सामाजिक सुरक्षा विभागको संयोजनमा सामाजिक सुरक्षा कोष, आबुधाबीस्थित दु्तावास, श्रमिक र एनआरएनका पदाधिकारीबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ।

छलफलमा सामाजिक सुरक्षा कोषमा कायममुकायम कार्यकारी निर्देशक विवेक पन्थीले श्रमिकलाई कोषका आबद्ध गराउनले कोषले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कोषले श्रमिकलाई थप सुविधा उपलब्ध गराउने योजना पनि बनाएको उनले बताए। साथै श्रमिकलाई कोषमा आबद्ध हुन सहज प्रक्रिया अवलम्बन गर्न र आवश्यक सहकार्य गर्न कोष सधैँ तयार रहेको समेत उनले बताए।

त्यस्तै, आबुधाबीस्थित नेपाली दुतावासका श्रम काउन्सलर दिनबन्धु सुवेदीले पनि श्रमिकलाई कोषका आबद्ध गराउन द्ुतावासले सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘श्रमिकका लागि कोष अति उपयोगी छ । यसबाट श्रमिक तथा श्रमिकका परिवारले आर्थिक सुरक्षा प्राप्त गर्ने हुँदा यसलाई जतिसक्दो श्रमिकको पहुँचमा पुर्याउन आवश्यक छ,’ उनले भने।

छलफलमा गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष विकास शाहीले सामाजिक सुरक्षा कोषमा श्रमिकलाई आबद्ध गराउन सबैको जिम्मेवारी भएको बताए। सरकारले सुरुवात गरेको कार्यक्रममा संघको सहयोग पनि उत्तिकै रहने उनको भनाइ छ। आगामी दिनमा संघले श्रमिकहरु रहेको क्याम्पहरुमा नै पुगेर यस विषयलमा वृहत छलफल चलाउनेसमेत जनाए।

संघको सामाजिक सुरक्षा विभागका संयोजक फणिन्द्र ढकालले आगामी दिनमा थप सरोकारवालासँग बसेर कोषको विषयमा छलफल गरिने समेत बताए। ‘यो छलफललाई हामीले अभियानको रुपमा नै चलाउने छौं। जबसम्म श्रमिकहरु यस बिषयमा जानकारी हुँदैनन्, तबसम्म हामी छलफल चलाउने छौँ,’ उनले भने।

छलफल कार्यक्रममा संघका सदस्यहरुले अनलाइनमार्फत कोषमा आबद्ध हुने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए। त्यस्तै, कोष र कोषले दिने सुविधाको बिषयमा अधिकांश श्रमिक अनभिज्ञ रहेको समेत गुनासो गरे।

सरकारले गत बैशाखदेखि बैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा जोडिनुपर्ने प्रावधान राखेको छ। भर्खरै जाने श्रमिकको हकमा श्रम स्वीकृति लिँदा नै अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएको हुनुपर्नेछ।

यसअघि नै बैदेशिक रोजगारीमा रहेका श्रमिक वा स्वरोजगारले अनलाइन मार्फत कोषका आबद्ध हुन सक्ने व्यवस्था गरेको छ। कोषमा आबद्ध हुने श्रमिकले मासिक रुपमा योगदान रकम भुक्तानी गर्नुपर्नेछ। कोषमा आबद्ध भएका श्रमिकले नेपाल फर्कँदा जुनसुकै ब्राण्ड र आकारका टेलिभिजन ल्याउन पाउने व्यवस्था छ। कोषका अनुसार हालसम्म २ लाख ८७ हजार २५२ हजार श्रमिक कोषमा आबद्ध भएका छन्।

Published on: 22 August 2023 | Naya Patrika

Link

Back to list

;