s

श्रमिकलाई सताउँदै श्रम डेस्क

होम कार्की

काठमाडौँ — पुस पहिलो साता कुवेत हिँडेका ११ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्कले रोक्यो । उनीहरू कुवेतमा रेस्टुरेन्टको काममा जान लागेका थिए । ती श्रमिकले बोकेको भिसामा पद किचेन हेल्पर थियो । तर, कम्पनीले पठाएको मागपत्रमा ‘टिम मेम्बर’ उल्लेख थियो ।

वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस) मा पेस भएको कागजातका आधारमा भिसा नभएको भन्दै श्रम डेस्कले श्रमिक पठाउने म्यानपावर कम्पनीसमक्ष दूतावासबाट इमेलमा पत्र पठाउनुपर्ने सर्त राख्यो । त्यतिखेर बिहान ७ बजेको हुँदा कुवेतमा भने बिहान ४ बज्दै थियो । श्रम डेस्कले माग गरेको कागजात तुरुन्तै पेस गर्न सक्ने अवस्था थिएन । कागजात पेस हुन नसक्दा बिहान ९ बजेको विमानमा ११ जना श्रमिक उड्न नपाउने भए । उनीहरूलाई उडाउनका लागि म्यानपावर कम्पनीले श्रम डेस्कका अधिकारीले मागेबमोजिम प्रतिव्यक्ति ३ हजारको दरले ३३ हजार रुपैयाँ बुझाउनुपर्‍यो । ‘श्रमिक नउडाएमा ११ जनाको टिकट जान्थ्यो । त्यो टिकट सर्नेवाला थिएन । हामीलाई यस्तै खोचे थाप्ने काम हुन्छ,’ ती म्यानपावर कम्पनीले भने । जबकि श्रम स्वीकृति जारी गर्नुअघि वैदेशिक रोजगार कार्यालयलाई कम्पनीले रेस्टुरेन्टभित्र काम गर्ने टिमको सदस्य भएको भन्दै पत्र पठाएको थियो । र, त्यही आधारमा कार्यालयले श्रम स्वीकृति जारी गरेको थियो ।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहण गुरुङ विमानस्थलमा राखिएको श्रम डेस्कबाट यस्ता बार्गेनिङ दिनहुँ चलिरहेको दाबी गर्छन् । ‘वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पठाउनका लागि म्यानपावर कम्पनीले गौंडागौंडामा पूजा गर्नुपर्छ । धुपबत्ती बाल्नुपर्छ,’ उनले भने, ‘त्यसरी पूजा गर्ने अन्तिम गौंडा श्रम डेस्क हो ।’ यस्तै सास्तीले १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिएर श्रमिक पठाउन नसकिने उनको भनाइ छ ।

वैदेशिक रोजगार नियमावलीअनुसार श्रमिकको सहजीकरणका लागि विमानस्थलमा श्रम डेस्क स्थापना गर्ने उल्लेख छ । वैदेशिक रोजगार ऐन–२०६५ जारी भएपछि तत्कालीन श्रमसचिव श्यामप्रसाद मैनालीले नै गृह मन्त्रालयसँग पहल गरेपछि मात्रै श्रम डेस्क स्थापना गर्न सम्भव भएको थियो । गृह विमानस्थलमा श्रम डेस्क राख्ने पक्षमा थिएन । सुरुमा श्रम डेस्क अध्यागमनको काउन्टर नजिकै थियो । पछि त्यहाँबाट हटाएर विमानस्थल छिर्ने प्रहरी जाँच गर्ने नजिकै सारियो । वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा जानुपर्छ । डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढ्छ । तर भिजिट भिसामा जानेहरू भने श्रम डेस्कमा पुग्नुपर्दैन । हाल दैनिक झन्डै दुई हजार जना श्रम डेस्क जाने गर्छन् । 

‘विमानस्थलमै श्रम डेस्क राख्ने कुरा फिलिपिन्सबाट लिइएको मोडल हो । वैदेशिक रोजगारमा जाने श्रमिकसँग आवश्यक कागजात छ कि छैन भनेर हेर्न स्थापना गरिएको हो,’ वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, ‘यसलाई कागजात दुरुस्त भए नभएको हेर्ने अधिकृत बस्ने हिसाबले बनाइएको थियो । विस्तारै चेकिङ गर्ने प्वाइन्टका रूपमा विकसित गरियो ।’

पछिल्लो समय सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिइरहेको छ । तर, श्रम डेस्कले पनि श्रम स्वीकृति प्रक्रियामाथि छानबिन थालेपछि डेस्कको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । ‘परिवारसँग बिदा भईवरी भित्र छिरेका थियौं । कागज मिलेको छैन भनेर कुर्न लगाए,’ कुवेत पुगेका श्रीकान्त रेग्मीले कान्तिपुरसँग फोनमा भने, ‘पछि खै कसले के मिलायो । अब भयो भन्दै हामीलाई जान दियो ।’

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठका अनुसार अनलाइनबाट हेर्ने सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको बताउँछन् । उनले भने, ‘ठीक छ भनेर वैदेशिक रोजगार विभागअन्तर्गतको एउटा शाखाले अन्तिम श्रम स्वीकृति दिन्छ । त्यही श्रम स्वीकृति बोकेर विमानस्थल छिर्ने बेला विभागको अर्को शाखाले मिल्दैन भन्छ । यो कामले श्रमिकमाथि आर्थिक रूपमा मात्र नभएर अनावश्यक मानसिक तनाव दिने काम भइरहेको छ । आर्थिक फाइदाको चलखेल गर्ने हुदाँ यो व्यावहारिक छैन ।’

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले भने विमानस्थलमा श्रम डेस्क रहने कुरा निकै महत्त्वपूर्ण रहेको दाबी गर्छन् । ‘केही गुनासा आएका छन् । त्यसलाई कसरी हल गर्ने भनेर छलफल भइरहेको छ,’ उनले भने, ‘विमानस्थलमा रहेको श्रम डेस्क विभागअन्तर्गतकै अड्डा पनि हो । कार्यसम्पादनको सन्दर्भमा उजुरी छ भने व्यवस्थापन गर्ने हो । कमजोरी भए सुधार गर्नुपर्छ ।’

Published on: 6 February 2022 | Kantipur

Link

Back to list

;