s

श्रमिकलाई राज्यले तोकेको सुविधा दिन चिया उत्पादक सहमत

चिया उत्पादकले श्रमिकलाई राज्यले तोकेको सेवा सुविधा दिने सहमति गरेका छन् । नेपाल चिया उत्पादक संघ र चिया श्रमिकका नेताबीच आइतबार भएको सहमतिअनुसार राज्यले तोकेको सुविधा अर्थात् दैनिक ज्याला पाँच सय रुपैयाँ उपलब्ध गराउने सहमति भएको हो ।

बगान सञ्चालकहरूले १ साउनदेखि नै बढेको ज्याला कात्तिक मसान्तभित्र दिइसक्ने सहमति भएको चिया श्रमिक नेतृ सीता सापकोटाले जानकारी दिइन् । यस्तै, बगानका स्थायी श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकृत गर्ने सहमति भएको उनले बताइन् । यसअघि मजदुरले दैनिक ४३५ रुपैयाँ मात्र पाउँदै आएकामा ३२ साउनमा सरकारले राजपत्रमा प्रकाशित गर्दै मजदुरको ज्याला बढाएको थियो ।

सहमतिसँगै श्रमिकले सोमबारबाट बगान ठप्प बनाएर गर्ने भनिएको आन्दोलन स्थगित गर्ने सहमति भएको सापकोटाको भनाइ छ । मजदुरहरूले सेवा सुविधा माग गर्दै ३१ असारदेखि आन्दोलन गर्दै आएका थिए । देशभर २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चिया खेती हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । त्यसमध्ये झापामा १० हजार पाँच सय क्षेत्रफलमा चिया खेती हुने गरेको छ । देशभर बर्सेनि करिब दुई करोड ८० लाख केजीभन्दा बढी तयारी चिया उत्पादन हुने बोर्डले जनाएको छ ।

त्यसमध्ये झापामा मात्र एक करोड ८२ लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । उत्पादितमध्ये करिब ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डले जनाएको छ । मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७९/८० मा मात्र तीन अर्ब ४२ करोड ६९ लाखको चिया भारत निर्यात भएको छ । यति नै मूल्यको चिया नेपालमा समेत खपत हुन्छ ।

चिया क्षेत्रमा करिब ७० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । ८० प्रतिशत महिला श्रमिक छन् । चिया उत्पादनका लागि ३० वटा अर्थोडक्स र ३८ वटा सिटिसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । देशभर एक सय ६० भन्दा बढी चिया बगान रहेको बोर्डले जनाएको छ । १५ हजारभन्दा बढी साना किसानले चिया खेती गर्ने बोर्डले जनाएको छ ।

Published on: 4 September 2023 | Naya Patrika

Link

Back to list

;