s

श्रमिकको माग सम्बोधन गर्न आग्रह

काठमाडौँ, साउन २४ गते । राष्ट्रिय मानव अधिकार आयोगले झापाको चिया बगानमा कार्यरत श्रमिकको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले चिया बगानमा कार्यरत श्रमिकले ऐनबमोजिम न्यूनतम सेवा सुविधाबाट समेत वञ्चित भएको जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले चिया बगानमा कार्यरत श्रमिकको अधिकारको सम्मान गर्दै न्यूनतम तलब सुविधाको आवधिक पुनरवलोकन गर्न, पेसागत स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।

चिया बगानमा कार्यरत श्रमिक विभिन्न माग राखी असार ३१ गतेबाट झापामा आन्दोलनरत छन् । करिब ५० हजारभन्दा बढी श्रमिकको आन्दोलनरत रहेको बताइएको छ । चिया बगानमा कार्यरतमध्ये ८० प्रतिशत श्रमिक महिला छन् ।

आयोगका अनुसार श्रमिकले प्रचलित कानुन अनुसारको सुत्केरी बिदा नपाएको, गाँस, बास, कपास, खानेपानी, शौचालय, शिक्षा, स्वास्थ्यको उपयुक्त प्रबन्ध नरहेको, रोजगारदाताको तलब भत्तालगायतका सेवा सुविधा समयमा उपलब्ध नगराएको, विषादीका कारण श्रमिक दीर्घ रोगी बन्नु परेको, न्यूनतम तलब दुई/दुई वर्षमा पुनरवलोकन भई वृद्धि हुनुपर्नेमा नभएको पाइएको छ ।

Published on: 9 August 2023 | Gorkhapatra

Link

Back to list

;