s

श्रमिकका समस्या

विनोद सिजापती

दुई साताअघि हनोइ हवाई अड्डामा जहाजतर्फ लाग्दा अगाडिको पंक्तिमा आफूपछाडि आफ्नै रंगरूपको एक युवक भेटिए। उनी राजस्थानी रहेछन्। उमेर पैंतीस चालीस वर्ष। नाम सुमित जैन। भारत विभाजनपहिले हाल पाकिस्तानी भूभागमा परेको कोटा निवासी डाक्टर जैनका कनिष्ठ पुत्र। कोटाबाट विस्थापित हु“दा डाक्टर जैनले आफ्नो भन्ने सबै गुमाएका थिए। राजस्थान नजिकको एउटा गाउँमा स्थापित भएर परिवार जमाएका डा. जैन पाकिस्तानबाट आएदेखि नै विपन्न परिवारको स्वास्थ्य उपचारमा लागिपरेका हुनाले आफू पनि विपन्न नै रहेछन्। तर, टाढा–टाढाबाट समेत उनीसँग औषधी उपचारका निमित्त थुप्रै विपन्नजनको धुइरो लाग्दोरहेछ। बाबु आमाको विपन्नताबाट मुक्ति पाउन वाणिज्यशास्त्रमा स्नातक भएपछि सुमीत व्यापारमा लागेका रहेछन्।

राजस्थानको कोटाबाट जयपुर हुँदै बम्बै र दिल्लीमा हिराका गहनाको व्यापारमा लागेका सुमितलाई छिट्टै नै आफ्नो व्यापारिक सञ्जाल अफ्रिका र एसियामा फैलाउन सफलता मिलेको थियो। तिनले फ्रिटाउन (सेरालियोन), जोहन्सवर्ग (साउथ अफ्रिका) बाट हिरा ल्याएर बम्बै र मुजफफरपुरमा चम्काउने गर्दा रहेछन्। अहिले उनले हिराका अतिरिक्त मोजाम्बिकबाट कालो टिम्बर निर्यात गरी भियतनामको हनोइमा ताइवानी उद्यमीसँग मिलेर काष्ठ उद्योग स्थापित गरेका रहेछन्। राजस्थानबाट मास्टर कार्भर ल्याएर भियतनामी शिल्पकारहरुलाई तालिम दिई उड कार्भिङको कार्य गर्छन्। त्यहाँ उत्पादित वस्तुहरु चीन, दक्षिण कोरिया, ताइवान तथा थाइल्याण्डमा निर्यात गर्छन्। 

सुमित नेपालमा पशुपतिनाथको दर्शन गर्न सन् २००६ मा काठमाडौं आएका थिए। त्यसपछि उनी चार पटकसम्म काठमाडौं आइसकेका रहेछन्। एक पटक त काठमाडौंमा हिरा चम्काउने उद्योग स्थापनाका निमित्त कोसिस पनि गरेका रहेछन्। तर हाम्रो राजनीतिक अस्थिरता, सरकार बदलिनासाथ नीति बदलिने परम्परा, बन्द हडताललगायत् श्रम समस्याका कारण आफ्नो आयोजना मुजफ्फरपुरमा स्थापना गर्ने निर्णय गरेका रहेछन्। मैले तिनलाई नेपाली कालिगढ इतिहासमा नै ख्याति पाएका हुनाले किन तिनले अफ्रिकाको कालो टिम्बर नेपालमा ल्याएर कारभिङ गर्दैनन् भनेर सोधें। उनी इच्छुक भए नेपाली उद्योगपतिहरुसँग भेटघाट गराउन प्रयत्नशील हुने वचन पनि दिएँ । एकछिन पनि नसोची उनले जवाफ दिए– 'तपाईं किन मेरो व्यापार चौपट गराउन खोज्दै हुनुहुन्छ? जुन देशमा दर्जनौं मजदुर युनियन छन् र दर्जनौं श्रमिक समस्या छन्, त्यस्तो देशमा कसले गर्छ लगानी?'

सुमित जैनले हाम्रो औद्योगिक समस्याबारे मैले भन्दा ज्यादै तथ्य संकलन गरेका रहेछन्। उनीसँग कुरा गर्दागर्दै मैले केही समयअगाडि अपोलो अस्पताल दिल्लीमा भेटेका कालीकोटकी लक्ष्मी र दाङकी तीर्थमाया सम्भि्कएँ। दुवैको उमेर २५/२६ वर्षभन्दा बढी थिएन। त्यहाँ दुवै जना भुइँ पुछ्ने काममा लागेका थिए। लक्ष्मीले नेपालगन्जमा सिलाइबुनाइको तालिम प्राप्त गरेकी रहिछन्। तिनले काठमाडौंको एउटा गार्मेन्ट उद्योगमा झण्डै दुई वर्ष ज्यालादारीमा काम पनि पाएकी थिइन्। तर उक्त कारखानामा मजदुरले तलब सुविधा बढाउन आन्दोलन गरेपछि उद्योगपतिले मुनाफा न्युन हुँदै गएको अवस्थामा माग पूरा गर्न तयार भएनन्। आखिरमा मजदुरले तालाबन्दी गरे। मालिक बैंकको ऋण तिर्न नसकेर फरार भए।  काठमाडौंमा बेरोजगार भएर भौतारिँदै गर्दाको पीडा तिनीहरुले सविस्तार वर्णन गरेका थिए। दिल्ली पुगेपछि पनि तिनले दैनिक १२/१३ घण्टा आठ नौ वटा कोठी (फल्याट) मा काम गरे। तीमध्ये एउटाको मालिकले दया लागेर उनीहरुलाई एपोलो अस्पतालमा काम मिलाइदिएका रहेछन्।

तीर्थमायाका पिताले उनलाई घरखेत गरेर एसएलसी पास हुँदा साथै अरबमा काम गर्न पठाएका थिए। छोरीले कमाएको धनबाट परिवारलाई घोराही सार्ने उनको पिताको सपना थियो। तीर्थमायालाई म्यानपावर कम्पनीले जोर्डन हुँदै इराक पुर्यापइदियो। त्यहाँ तिनलाई बाँच्न अति नै कष्टप्रद् भयो। एउटा नेपाली दाजुले जसोतसो सहयोग गरेर उनलाई नेपाल फर्काइदिए। काठमाडौं झरेपछि उनलाई नर्क कुण्डबाट छुट्न पाएको महसुस भयो। दाङ फर्केर घरको समस्या झेल्ने हिम्मत थिएन तिनमा। उनी भौतारिँदै दिल्ली पुगेकी थिइन्। तिनी पनि लक्ष्मी जस्तै धेरै कोठीको भुइँ पुछेपछि अपोलो अस्पताल पुगेकी रहिछन्। दुवैले त्यहाँ प्रत्येक दिन आठदेखि दश घण्टासम्म भुइँ पुछ्ने कार्य गर्नुपर्थ्यो। तर पनि यो अवसर पाउँदा दुवैले ठूलै उपलब्धि हासील भएको महसुस गरेका थिए।

विदेशमा काम गर्ने हाम्रा युवा युवती कति छन् भन्ने भरपर्दो तथ्याङ्क पाइँदैन। तर पनि ७० लाखको संख्यामा नेपाली कामदार भारत, खाडी मुलुक, मलेसिया, कोरिया तथा जापान जस्ता राष्ट्रमा काम गरिरहेको अनुमान गरिन्छ। तिनको कमाइ भने हाम्रो कुल राष्ट्रिय आम्दानीको ३० प्रतिशतको हाराहारीमा भएको अनुमान पनि गरिएको छ। र, प्रत्येक दिन झण्डै २ हजारको संख्यामा नेपाली कामदार रोजीरोटीको खोजमा पलायन हुन्छन्। नेपालमा रोजगारी प्रदान गर्ने मुख्य क्षेत्र भनेको कृषि हो। तर कृषिमा उत्पादकत्व बढ्न सकेको छैन। यस क्षेत्रमा सामेल भएर उत्पादकमूलक रोजगारीको अवसर पाउन सकिन्छ भन्ने विश्वास श्रम बजारमा पुग्ने वा पुगेका श्रमिकलाई छैन। वास्तवमा परम्पराकालदेखि कृषि व्यवसायमा लागेका कृषकलाई पनि यो क्षेत्रमा रहेर जीवनयापन सम्भव छ भन्ने विश्वास घट्न थालेको छ। हामी कृषि पैदावार निर्यात गर्ने राष्ट्रबाट ती वस्तु आयात गर्ने राष्ट्र बन्न पुगेका छौं ।

उद्योगधन्दा फस्टाउन सकेको खण्डमा रोजगारीका अवसर मौलाउने थिए। तर हाम्रो औद्योगिक व्यापारिकलगायत् आर्थिक मौद्रिक नीतिका कारण औद्योगिकीकरण  ओइलाउँदै गएको छ। तीन दशकमा यस क्षेत्रको योगदान राष्ट्रिय अर्थतन्त्रमा सात प्रतिशतबाट बढ्न सकेको छैन। प्रत्येक वर्ष कति उद्योगमा ताला लाग्ने गरेको छ, यसबारे सरकारी निकाय तथा उद्यमीको संस्था नै अनभिज्ञ छन्। रोजगारीको अवसर प्रदान गर्ने अर्को क्षेत्र पूर्वाधार निर्माण तथा सम्बर्द्धन हो। यस क्षेत्रमा  कति श्रमजीवी कार्यरत् छन्, त्यसको भरपर्दो तथ्याङ्क पाइँदैन। तर जुन हिसाबले श्रमको साटो मसिनलाई प्रश्रय दिने प्रचलन व्याप्त भएको देखिन्छ, त्यो हेर्दा यस क्षेत्रले बढ्दो रोजगारीको सम्भावनालाई सम्बोधन गर्ने छा“ट देखिँदैन। निर्माण तथा सम्बर्द्धन कार्यमा अधिकतम् मसिनको प्रयोग भनेको ती काम गर्ने श्रमिकलाई विस्थापित गर्नु हो। त्यसो त जति पनि ठूला आयोजना निर्माणमा छन्, ती सबैमा श्रम समस्या देखापरेका छन्। जसले गर्दा निर्माण कार्यतालिकाबमोजिम हुन नसकी परियोजनामा लाग्ने खर्च रकम आयोजना तर्जुमाकालमा प्रक्षेपण गरेभन्दा धेरै गुणा बढेको पाइन्छ।  

मुलुकभित्रको वातावरण लगानी प्रोत्साहन गर्नेभन्दा हतोत्साही तुल्याउनेखालको छ। स्थापित भइसकेका औंलामा गन्न सकिने उद्योग पनि पलायन हुन थालेका छन्। उद्यमीहरु विदेशमा लगानी गर्ने छुट माग्न थालेका छन्। श्रम समस्या अवसरको अभाव मात्र नभएर अवसरको उपदेयताको विषय पनि हुन थालेको छ। नेपाली श्रमजीवीको तलब तथा सुविधासम्बन्धी माग चर्किएका कारण हामीद्वारा उत्पादित वस्तु विश्व बजारमा महँगा छन्। सीप अभाव, उत्पादकत्व कमी र श्रमिक बढी महŒवाकांक्षी भएकाले पनि लामो अवधिमा मुनाफा कमाइने उद्योगमा लगानी गर्न स्वदेशी वा विदेशी लगानीकर्ता तयार देखिँदैनन्।

त्यसमा पनि, प्रत्येक राजनीतिक दलले भातृ संस्थाका रूपमा ट्रेड युनियन गठन गरेका छन्। यी  युनियनको प्रयोग राजनीतिक मुद्दाकै निमित्त गरिन्छ। मजदुरको हित–अधिकारका नाममा राजनीतिक उद्देश्य प्राप्ति गर्ने प्रयत्न गरिन्छ। देशमा रोजगारीका अवसर बढ्नुको साटो समग्रमा घट्दै गएको अनुभव हुन्छ। जुन मुलुकमा मजदुरले रोजगारीका अवसर नपाएर विदेशिनुपर्ने बाध्यता छ, उपलब्ध अवसरका ढोका थुनिन्छ, त्यहाँ कसरी विकास हुन्छ? विश्वमा जोखिम मोल्न सक्ने लगनशील व्यक्तिका निम्ति उद्योग र व्यापार विस्तार गर्न असीमित अवसर देखा पर्न थालेका छन्। ती अवसरसँगै मजदुरको अधिकार र हित पनि बढ्दै गएका छन्। हाम्रो देशमा मजदुरले आठ घण्टा खटिएर काम गर्ने अवसर पाए पो बाँकी १६ घण्टा आफ्नो निमित्त खर्चिने सुविधाको सपना देख्नु! मे दिवसको नाराको सार्थकता हाम्रा सन्दर्भमा 'श्राद्धमा बिरालो बाँध्ने' उखानभन्दा बढी के अर्थ हुन्छ र?

Published on: 6 May 2013 | Nagarik

Back to list

;