s

श्रमिकका समस्याबारे छलफल

रोजगारीका लागि जाने गन्तव्य मुलुकसँग जोडिएका श्रमिकका समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवाला अन्य मन्त्रालयसँग छलफल थालेको छ।
 
गन्तव्य मुलुकका निर्णय र त्यहाँस्थित नेपाली कामदारले भोग्दै आएका समस्या समाधानमा एकल मन्त्रालयको प्रयास मात्र पर्याप्त नहुने भएकाले परराष्ट्र मन्त्रालयसँग छलफल अघि बढाइएको हो।
 
श्रमिकले भोग्दै आएका समस्यालाई कसरी समाधान गर्न सकिएला भनेर मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा र परराष्ट्र मन्त्रीबीच छलफल भयो । श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीका अनुसार गन्तव्य मुलुकसँग जोडिएका श्रमिकका सवाल र दूतावाससँग सम्बन्धित सरोकारका विषयमा दुई मन्त्रीबीच छलफल भएको हो।
 
‘मलेसिया जाने कामदारसँग लिने गरिएको स्वास्थ्य परीक्षण, औंठा छाप, वन स्टप सेन्टर, माइग्राम्स तथा साउदी अरेबिया जाने कामदारसँग गाम्का नामक संस्थाले गर्दै आइरहेको स्वास्थ्य परीक्षणबारे छलफल बढी केन्द्रित थियो,’ ज्ञवालीले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट गर्ने कि भन्नेबारे छलफल बढी केन्द्रित भइरहेको छ।’
 
मलेसिया र साउदी जाने कामदारसँग स्वास्थ्य परीक्षण गर्ने नाममा ठूलो रकम असुल हुने गरेको छ । त्यस्तै मेनपावरले विदेशबाट ल्याउने कामदारको मागलाई पनि अब दूतावासले प्रमाणीकरण गर्न सकिनेबारे दुई मन्त्रीले छलफल गरेका थिए।
 
सहससचिव ज्ञवालीले मेनपावरले ल्याउने कामदारको मागलाई दूतावासले प्रमाणीकरण गर्नुनपर्ने कानुनी व्यवस्था भएकाले नियम कडा पार्नेबित्तिकै कार्यान्वयनमा आउने बताए।यतिखेर मेनपावरले आफूखुसी मागपत्र ल्याउने र जसले गर्दा कमसल खालका रोजगारदातासमक्ष कामदार पुग्ने र समस्यामा पर्ने क्रम बढेको गुनासो व्याप्त छ । छलफल प्रारम्भिक भएकाले कुनै निर्णय भने नभएको ज्ञवालीले बताए।
 
Published on: 11 April 2018 | Nagarik

Back to list

;