s

श्रमिकका गुनासा सम्बोधन गर्न श्रममन्त्री कुँवर तयार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन्।

आईतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकको गुनासो सुनेपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशमा समेत एजेण्टहरुमार्फत जताततै श्रमिक ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताए।

उनले शुन्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगमन शुरु गरेको बताए।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताए। उनले वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो लागेको बताए।

मन्त्री कुँवरले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताए। उनले अनुगनको लागि अनुगमन टोलीले प्रमाण र पैसा केही नभेट्ने गरेको बताए। मन्त्री कुँवरले ठगी भएको प्रमाण नभई कारबाहीको दायरामा ल्याउन नसकिएको बताए।

‘मन्त्रालयले रोमनियाको लागि साढे ३ लाख लिएर पठाइँदैछ भनेर सुनेँ। शंका लागेको व्यक्तिलाई मन्त्रालयले एक घण्टाभित्र बोलाएर स्पष्टीकरण सोधेका छौं। शंका गरेको व्यक्तिहरुले अन्त पनि देखाएको छ। मन्त्रालयका यस्ता जानकारी आउँदैन। अब अलिअलि अफ्ठ्यारो पनि लाग्न थाल्यो। शुन्य लागतमा पठाउने भनेका छौं जताततै पैसा असुल भएको छ’, उनले भने, ‘त्यसको नियन्त्रण भएको छैन। त्यसको नियन्त्रणको लागि अनुगमन टोली पठायौं। टोलीले केही पनि भेटाउँदैन। पैसा र प्रमाण केही भेटाउँदैन। प्रमाण नभई कारबाहीको दायरामा कसरी ल्याउने सरकारलाई समस्या परेको छ।’

उनले अब सरकारले ठगी गर्ने एजेण्टहरु कहाँ बस्छन् खोज अनुसन्धान गरेर कानूनी कारबाही गरिने बताए। मन्त्री कुँवरले कल सेन्टरमार्फत श्रमिकका गुनासा तत्काल र केही समय लगाएर भए पनि समाधान मन्त्रालयले गरिरहेको दाबी गरे। उनले पछिल्लो समय वैदेसिक रोजगारको क्षेत्र, घरजग्गा कारोबार हुँदाहुँदै फोहोर व्यवस्थापनमा समेत दलाली हुन थालेको बताए।

‘कल सेन्टरमा श्रमिकका समस्या तत्काल पनि समाधान गरेका छौं। कल सेन्टरको लागि मात्रै होइन। तत्काल समाधान गर्ने माध्यम पनि भएको छ। श्रमिकहरुबाट आएका जटिल खालका गुनासा भए केही समय लाग्छ। सामान्य प्रकारका गुनासा कल सेन्टरले पनि गर्छ’, उनले भने, ‘बाँकी विभागहरु र मन्त्रालयले गर्ने गरेको छ। धेरै गुनासाहरु समाधान नभएर थन्किएका छैनन्। केही जटिल प्रकारका भएकाले केही समय लाग्छ।’

मन्त्री कुवरले आईतबार चार जना श्रमिकहरुको गुनासो सुनेका छन्। उनले वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौ नलगिएको, वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरुले मन्त्री कुँवरलाई गरेका थिए।

श्रममन्त्री कुँवरले हेरक हप्ताको आईतवार एक घण्टा कल सेन्टरमा श्रमिकको गुनासो सुन्ने कार्य गरिरहेका छन्।

Published on: 5 September 2022 | Setopati

Link

Back to list

;