s

श्रमिकको पहिलो गन्तव्य साउदी

काठमाडौँ, फागुन १० गते । माघ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरब भएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सो अवधिमा ११ हजार ११० नेपाली श्रमिक साउदी पुगेका छन् । अघिल्लो वर्ष माघ महिनामा दोस्रो श्रम गन्तव्य मुलुक बनेको साउदी अरब अहिले पहिलो बनेको छ ।

विभागका अनुसार यस अवधिमा साउदी अरबपछि संयुक्त अरब इमिरेट्स (युएई) मा १० हजार ८९ जना गएका छन् भने कतार १० हजार ७६४ जना, मलेसिया चार हजार १४५, कुवेतमा दुई हजार २९८ जना गएका छन् । माघ महिनामा रोजगारीका लागि ८२ वटा देशमा नेपाली पुगेका छन् । यस अवधिमा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली श्रमिक पुगेका छन् ।

विभागका अनुसार माघ महिनामा मात्रै ४८ हजारभन्दा बढी युवा विदेशिएका छन् । संस्थागत, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ४८ हजार ६७४ जना रोजगारीका लागि विदेशिने गरेका छन् ।

माघ महिनामा संस्थागत रूपमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत २५ हजार १७१ जना विदेश गएका छन् । व्यक्तिगत रिइन्ट्रीमार्फत २२ हजार २५५, व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा एक हजार २३४ जना विदेश गएका छन् ।

नयाँ सम्झौता अनुसार २४ हजार मलेसियासँगको नयाँ श्रम समझदारी (एमओयु) कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली श्रमिकको सङ्ख्या बढ्न थालेको छ । नेपाल सरकार र मलेसिया सरकारबीच भएको २०७५ कात्तिक १२ गते भएको एमओयु गएको भदौदेखि कार्यान्वयनमा आएको छ । त्यसयता श्रमस्वीकृति तथा वैधानिकीकरण भएर मलेसिया जाने श्रमिकको सङ्ख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको माघ महिनासम्म २४ हजारभन्दा बढी नेपाली श्रमिक नयाँ एमओयु अनुसार श्रमस्वीकृति लिएर मलेसिया गएका छन् । जबकि गत आवको माघ महिनासम्म दुई हजार ७९३ जना मात्र नेपाली नयाँ श्रमस्वीकृत लिएर मलेसिया पुगेका थिए ।
सो अवधिमा पुनः श्रमस्वीकृति लिएर भने १६ हजार बढी नेपाली मलेसिया गएका छन् जस अनुसार माघ महिनासम्म झण्डै हजार नेपाली श्रमिक त्यहाँ गएको देखिन्छ । गत आवमा मलेसियामा कुल १७ हजार ८३० जना मात्रै नेपाली श्रमिक गएका थिए ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षण, मागपत्रलगायतका नाममा नेपाली श्रमिकलाई ठूलो आर्थिक भार पर्ने गरी ठगी गरेको भन्दै २०७५ जेठ २ गतेदेखि मलेसियाका लागि श्रमस्वीकृति दिन रोक लगाएको थियो । त्यही कात्तिक १२ गते नेपाल र मलेसियाबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने विषयमा एमओयु सम्पन्न भएको थियो ।

अदक्ष कामदार बढी

विभागका अनुसार पुस महिनामा श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा धेरै अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा २७ हजार ४१७ अदक्ष श्रमिक विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १६ हजार ७१९, अर्धसीप भएका चार हजार ४९१ जना, व्यावसायिक सीप भएका ४२ जना र विशिष्ट सीप भएका पाँच जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

Published on: 22 February 2020 | Gorkhapatra

Link

Back to list

;