s

श्रमिक नपाएपछि कामै नगरी फर्कियो प्रधानमन्त्री रोजगार कार्यक्रम

मोहम्मद हबिब

सिद्धार्थनगर नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गएको छ। संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सिद्धार्थनगर नगरपालिकाका लागि पठाएकोे ४१ लाख रुपैयाँ कामै नगरी फिर्ता पठाएको हो।

रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने उद्देश्यका कार्यक्रम ल्याए पनि समयमा रकम निकासा नहुँदा र कार्यविधी अनुसारको काम गर्न नसक्दा रकम फिर्ता गएको सिद्धार्थनगर नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक विष्णु अर्यालले बताए।

कार्यक्रमको कार्यविधिमा सामाजिक विकासका लागि स्थानीय तहका सडकहरुको मर्मत सम्भार, सरसफाई बृक्षारोपण लगायतका श्रममुलक काममा खर्च गर्नुपर्ने थियो। सिद्धार्थनगरमा कार्यविधि अनुसारको श्रमिक अभावका कारण काम गर्न नसकेको संयोजक अर्यालले बताए।

कार्यविधि नमिलेका कारण बजेट खर्च नसकेको र सबै बजेट खर्च गर्दा दुरुपयोग हुने अवस्था पनि आउने भएकोले फिर्ता पठाएको उनले बताए। शिक्षित व्यक्तिले मजदूरीको काममा खट्न नमानेका कारण खर्च हुने अवस्था नआएको उनले बताए।

कार्यक्रमका लागि आएको ४१ लाख फिर्ता भए पनि कार्यालय संचालन र पारिश्रमिकका लागि आएको ५ लाख ६६ हजार भने खर्च भएको छ। मन्त्रालयलले दिइएको सशर्त अनुसार आएको सबै रकम खर्च कार्यालय समान खरिद, तलब र विविधमा खर्च भएको संयोजक अर्यालले जानकारी दिए।

Published on: 18 July 2019 | Nagarik

Back to list

;