s

श्रमिक महिलालाई नगरको सम्मान

सिन्धुली : कमलामाई नगरपालिका–६ सिन्धुलीकी ७४ वर्षीया दालकुमारी खड्का सदाझै आइतबार बिहानदेखि ग्वाङ खोलामा गिटी कुट्दै थिइन्। दैनिक छाक टार्नकै लागि चिसो भए पनि हात कपाउँदै ढुंगामा हथौडा बजार्दै गर्दा एक हुल मान्छे उनको छेउमै आए।

अघिपछि बाटोमा भेट हुँदा पनि वास्ता नगर्ने नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीसहित जनप्रतिनिधिको टोली आफू बसेको ठाउँमा आएपछि उनी अचम्मित भइन्। मेयर खत्रीले हातजोडेर नमस्कार गर्दै खड्कालाई भने, ‘आमा कति वर्ष पुग्नुभयो ? यो बगरमा गिटी कुट्न थाल्नुभएको कति भयो ? ’ जवाफमा खड्काले भनिन्, ‘अहिले ७४ वर्षकी भएँ, १८ वर्षदेखि यही बगरमा गिटी कुटिरहेकी छु।’

मेयर खत्रिका आँखा मलिन भए, उनले अर्को प्रश्न गर्न सकेनन्। भावुक हुँदै भने, ‘लौ आमा म तपाइँहरूकै भोटले जितेर मेयर बनेँ, मैले केही गर्न सकेको थिइन। अहिले म तपाइँलाई सम्मान गर्न आएको। आज तपाइँहरूले वि श्राम गर्ने दिन हो। तपाइँहरूले गर्ने श्रमको मूल्य दिन आएको हुँ। यसले मीठो तरकारी किनेर खानु, अनि घरमै बस्नु,’ खत्रीले ७४ वर्षीयालाई पछौरा ओढाउँदै एक हजार रुपैयाँ हातमा थमाए।

मार्च ८ अर्थात ११० औं अन्तर्राट्रिय नारी दिवसको अवसरमा मेयर खत्रीले नगरका श्रमिक महिलाहरूलाई उनीहरूले श्रम गरीरहेकै ठाउँमा पुगेर एक हजार नगदसहित सम्मान गरे। कोरोना भाइरसको त्रासका कारण जिल्लामा गत वर्षझै यसवर्ष ठूला तामझामका कुनै कार्यक्रम भएनन्। कार्यक्रम हुँदा पनि यस्ता मजदुरलाई दिवसकाबारे कुनै जानकारी हुँदैनथ्यो। तर, मेयर खत्रीले आफूहरूलाई सम्मान गर्ने कुराको सुइकोसमेत नपाएका श्रमिक महिलाहरू नगदसहित सम्मानित हुन पाउँदा खुसी बनेका छन्।

खत्रीले ग्वाङखोलाको किनारमा वर्षौंदेखि गिटी कुटेर जिविकोपार्जन गरिरहेका ६५ जना महिला श्रमिकलाई दोसल्ला ओढाएर एक दिनको श्रमको मूल्य भन्दै एक÷एकहजार रुपैयाँले प्रदान गरेका छन्। मजदुर महिलाले पहिलोपटक जनप्रतिनिधिले खोलामै पुगेर गरेको पहिलो सम्मान भएको बताए।

महिला श्रमिक सीता रम्तेलले भनिन्, ‘हामीलाई परिवार पाल्नकै पिरलो हुन्छ। दिवस मनाउन जाँदा साँझको छाक टार्नै मुस्किल हुन्छ। तर, मेयर सापले आज वि श्राम गर्नुस्, भन्दै एक दिनको ज्याला पनि दिनुभयो। यो हाम्रो कामको अहिलेसम्मकै पहिलो सम्मान हो। बृद्ध भएका श्रीमान र अपांग नाती पाल्नकै लागि गिटी कुट्ने काममा लागेको उनले बताइन्।

सरकारी तथा गैरसरकारी संस्थाले अनेक अभियान र कार्यक्रमहरू ल्याए पनि ग्रामीण महिलाहरू त्यसको पहुँचमा छैनन्। तर, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगरले सरेको सम्मानले आफूहरूले गरेको श्रमको पनि मूल्य रहेको महिलाहरूले प्रतिक्रिया दिए। सम्मानित हुने अधिकांश महिलाहरू सुकुम्वासी बस्तीका हुन्।

ऐलानी जमिनमा झुपडी बनाएर उनीहरू बसोबास गर्दै आएका छन्। महिलाहरूले बालबालिकाको शिक्षामा नगरले सहयोग गरिदिन आग्रह गरे।

मेयर खत्रीले सरकारले निःशुल्क किताब दिएको र आफूहरूले आवश्यक पर्ने पोशाक, कापीकलम र झोला पनि उपलब्ध गराउने आश्वासन दिए। यसअघि नगरपालिकाले विपन्न मजदुरहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिएको छ।

Published on: 9 March 2020 | Annapurna Post

Link

Back to list

;