s

श्रमिक महिलाको आत्महत्या प्रकरण : पीडित परिवारलाई साढे सात लाख क्षतिपूर्ति दिने सहमति

सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले कामबाट निकालेपछि आत्महत्या गरेकी अनितादेवी पासवानका परिवारलाई उद्योगले साढे सात लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

१३ वर्षदेखि उद्योगमा कार्यरत गोलबजार–९ गोविन्दपुरकी ४७ वर्षीया पासवानलाई उद्योगले २४ मंसिरमा कामबाट निष्कासन गरेको थियो । उद्योगले कामबाट निकालेको पीडामा उनले सोही दिन आत्महत्या गरेकी थिइन् । उनको आत्महत्यापछि पीडित परिवार र श्रमिकले क्षतिपूर्तिको मागसहित उद्योगमा आन्दोलन गर्दै आएका थिए ।

आइतबार स्थानीय प्रशासन, मजदुर संगठन र उद्योगका प्रतिनिधिसहितको छलफलमा मृतक परिवारलाई सात लाख क्षतिपूर्ति र क्रिया खर्चबापत ५१ हजार रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो ।

उद्योग व्यवस्थापनले मृतकसहितका श्रमिकलाई सोधेको स्पष्टीकरण र कारबाहीको विषयमा छानबिन गर्न नौ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । समितिमा उद्योग व्यवस्थापनबाट तीनजना, श्रमिक संगठनबाट चार जना र स्थानीय समाजबाट दुईजना सहभागी रहेका गोलबजार–९ का वडाध्यक्ष रामपुकार कामतीले बताए ।

त्रिपक्षीय छलफलले उद्योग प्रशासनले ६ मंसिरमा सोधेको स्पष्टीकरणपछि कामबाट निकालिएका श्रमिकमाथिको कारबाही फिर्ता लिई मृतक अनिताको सगोल परिवारबाट सीपअनुसार एकजनालाई उद्योगको नियमानुसार काम दिने निर्णय गरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

Published on: 16 December 2019 | Naya Patrika

Link

Back to list

;