s

श्रमिक व्यवस्थापनको माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७७÷८८ को मौद्रिक नीति तरलता व्यवस्थापन र श्रमिक व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक गतिविधि चलायमान हुन नसकेको अवस्थामा सबैलाई राहत पुग्ने गरी मौद्रिक नीति आउनुपर्ने उनको भनाइ छ। मुलुकको अर्थतन्त्र उकास्न र निजी क्षेत्रलाई समेत राहत पुग्ने गरी मौद्रिक नीति आउनुपर्ने गोल्छाले बताए।

उनले कोभिड–१९ का कारण स्वदेशमा झण्डै पाँच लाख युवा रोजगारीबाट विस्थापित भएको र सोभन्दा ठूलो संख्यामा विस्थापित भई बाहिरबाट युवा आउने भन्दै श्रमिक व्यवस्थापन गर्न चुनौती रहेको उनले बताए। मौद्रिक नीतिले तरलता व्यवस्थापन गर्न पुनर्कर्जा, ब्याजदर र पुनर्संरचनालाई जोड दिनुपर्ने उनले बताए।

यो वर्ष पैसा कमाउने वर्ष नभएको भन्दै सबैले सर्भाइभ हुने गरी नीति आउनुपर्नेमा उनले जोड दिए। नाफा छोडेर अर्थतन्त्रलाई जोगाउन लाग्नुपर्ने भन्दै उनले अर्थतन्त्र उकास्न राष्ट्र बैंकले सहयोग गर्नुपर्ने बताए।

नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्नेमा जोड दिए। उनले १५० अर्बको ‘स्टिमुलस प्याकेज’ लागु हुनुपर्ने पनि बताए। उनले भने, ‘यो बजेटमा घोषणा भएको छ। तर, कार्यान्वयन भएको छैन। अब आउने मौद्रिक नीतिले सम्बोधन गर्छ होला।’

आम व्यवसायीका लागि मौद्रिक नीतिमा ब्याजदरको कुरा सम्बोधन हुनुपर्ने उनले बताए। अहिले राष्ट्र नै विषम परिस्थितिबाट गुज्रिरहेकाले समग्र क्षेत्र एक भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। उनले भने,‘एकले अर्कोलाई सहयोग गर्नुपर्छ। अब आउने मौद्रिक नीतिले तल्लो तहसम्म यसको अनुभूति हुन सकोस्।’ सरकारी र निजी क्षेत्र मिलेर अघि बढे अहिलेको संकटबाट पार पाउन सकिने उनले बताए।

नेपाल बैंकर्स एसोसिएनका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकको ब्याजदर कम गर्ने तयारी भइरहेको बताए। १५÷१६ प्रतिशतको ब्याजदरलाई १२ प्रतिशतमा ल्याउँदे सिंगल डिजिटमा ल्याउने कोसिस भइरहेको उनले सुनाए। ‘मौद्रिक नीति क्षणिक भन्दा पनि दीर्घकालीन अवस्था हेरेर आउनुपर्छ’, उनले भने।

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी भएको उनले बताए। बजेट कार्यान्वयनमा सहयोग पुग्नेगरि नै मौद्रिक नीति आउने उनको अपेक्षा छ।

कोभिड–१९ कारण आर्थिक वृद्घिदरको गतिमा ब्रेक लागेको र आपूर्ति शृंखलासमेत अवरुद्घ भइरहेको परिस्थिति सुनाउँदै उनले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने विश्वास दिलाए।

मौद्रिक नीतिले कोभिडबाट प्रभावित क्षेत्रलाई चाँडो सञ्चालन गर्न मद्दत पुग्ने, वित्तीय साधनलाई प्राथमिकीकरण गर्ने, डिजिटलाइजमा जोड दिइने तथा संस्थागत सुशासनमा जोड दिइने उनले सुनाए। अहिलेको आर्थिक संकटबाट बचाउन मौद्रिक नीतिले आधार दिने उनको भनाइ छ।

Published on: 15 July 2020 | Annapurna Post

Link

Back to list

;