s

श्रमिक वर्गको जीवनयापनबारे चिन्ता

काठमाडौँ, मङ्सिर २९ गते । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को एसियाली क्षेत्रीय बैठकले विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधले श्रम गरेर खाने न्यून र मध्यम वर्गलाई असर पारेप्रति चिन्ता व्यक्त गरेको छ ।

अघिल्लो साता सिङ्गापुरमा भएको बैठकमा ती देशबाट सहभागी सरकार, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधि सम्मिलित बैठकले न्यून र मध्यम वर्ग जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेको हो । बैठकमा रोजगारदाता देशले आप्रवासी श्रमिकमाथि शोषण दमन गरेको र खाडीका साउदी कतारमा त काफला प्रणालीका कारण श्रमिकमाथि चर्को शोषण भएको भनेर विरोध पनि भएको थियो ।

बैठकमा सहभागी रोजगारदाता देश साउदी अरबका सरकारी प्रतिनिधिले साउदीमा काफला प्रणाली अन्त्य भएको र कुनै श्रमिकलाई काम चित्त नबुझेमा अर्को काममा जान वा ६० दिनभित्र आफ्नो देश फर्किन सक्ने जानकारी गराएको थियो । बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण नेतृत्वमा रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिको सहभागिता रहेको मन्त्रालयले मङ्गलबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

श्रमसचिव अर्यालले नेपालले श्रम र रोजगारका क्षेत्रमा प्राप्त गरेको उपलब्धि र त्यसको कार्यान्वयनका चरणमा आएका चुनौतीबारे प्रतिवेदन पेस गर्नुभएको थियो । उहाँले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सन्दर्भमा उनीहरूको समग्रतामा पुनः एकीकरण कार्यक्रम लागू गरेको जानकारी गराउनुभएको थियो ।

Published on: 15 December 2022 | Gorkhapatra

Link

Back to list

;