s

श्रमिक आपूर्तिकर्ता संघ गठन

स्वदेशी श्रम बजारमा आवश्यक श्रमिक आपूर्ति गर्दै आएका आउटसोर्सिङ कम्पनीहरू संगठित भएका छन् । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रामेश्वर शाहको अध्यक्षतामा श्रमिक आपूर्तिकर्ता संघ गठन भएको हो ।
 
निजी क्षेत्रका सुरक्षा गार्ड र श्रमिक आपूर्ति गर्दै आएका कम्पनीहरू सदस्य रहने संघको गठनले आटसोर्सिङ व्यवसायमा संलग्न व्यवसायीहरूको हकहित संरक्षण गर्ने उनले बताए । ‘केही समयअघि जारी भएको श्रम ऐन २०७४ ले पहिलोपटक श्रमिक आपूर्ति कार्यलाई मान्यता दिएको छ,’ शाहले भने, ‘श्रमिकहरूको हकअधिकारको सम्मान गर्ने र उनीहरूले पाउने सेवासुविधाप्रति सदा सकारात्मक रहनेछौँ । ऐनको कार्यान्वयनमा सरकारका सम्बन्धित निकायसँग मिलेर काम गर्न संघ सदैव तयार रहनेछ ।’
 
नवगठित संघका अनुसार हाल नेपालमा श्रमिक तथा सुरक्षा गार्ड आपूर्ति गर्ने ३ हजारभन्दा बढी आउटसोर्सिङ कम्पनीहरू सञ्चालनमा छन् । ती कम्पनीहरूले सेक्युरिटी, सरसफाइ, कल सेन्टरलगायतका क्षेत्रमा करिब ३ लाख बढीलाई रोजगारी दिइरहेको संघको दाबी छ।
 
कसले के भने ?
 
श्रम ऐनले श्रमिक आपूर्ति गर्न सकिने व्यवस्था गरेसँगै बजारमा ठीक ढंगले श्रमिक आपूर्ति हुने विश्वास छ । पुँजी र श्रमको ठीकसँग संयोजन गर्न सके मुलुकलाई समृद्धिको मार्गमा अगाडि लैजान सकिन्छ । आउटसोर्सिङमा श्रमिक शोषणमा पर्न सक्ने र श्रमिक रोजगारदाताभन्दा आपूर्तिकर्ताप्रति बढी उत्तरदायी हुन सक्ने चुनौतीलाई सामना गर्न सक्नुपर्ने हुन्छ ।
 
रमेश लेखक, पूर्वश्रममन्त्री
 
अहिलेको समय आउटसोर्सिङको हो । यस क्षेत्रमा क्रियाशील सेवाप्रदायक कम्पनीहरू संगठित हुनु सकारात्मक छ । आउटसोर्सिङ व्यवसायले संगठित रूप लिँदा श्रमिकको हकअधिकार संरक्षणसँगै रोजगारदातालाई समेत सहज हुने विश्वास लिएका छौँ । सबै युवाहरूलाई स्वदेशमै रोजगारका अवसर सिर्जना गर्नेतर्फ ध्यान जानुपर्ने आवश्यकता छ । नेपालमा रोजगार सिर्जना गर्नेतर्फ भन्दा श्रमिकको हकअधिकारका नारा दिएर राजनीति गर्ने परिपाटी छ । तर, सबैभन्दा चुनौती सबैलाई रोजगार दिनुमा नै छ । श्रम कानुनले नै श्रमिकको हकहित प्रत्याभूत गरिसकेको छ ।
 
लशेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
 
Published on: 5 January 2018 | Naya Patrika

Back to list

;