s

श्रमिक आन्दोलनले हरियो पत्ती नष्ट

भीम चापागाईं

दुई सातादेखि चिया श्रमिकले आन्दोलन जारी राखेपछि पूर्वका सरकारी र निजी चिया बगानमा करोडौं रुपैयाँको हरियो पत्ती नष्ट भएको छ। बरर्र पलाएको हरियो मुना बेलैमा टिप्न नपाउँदा वर्षभरकै गुणस्तरीय ‘फस्ट फ्लस’ खेर गइरहेको छ। उद्योगीका अनुसार सबैभन्दा महँगो मूल्यमा बिक्री हुने पत्ती खेर जाँदा वर्षैभर चियाको गुणस्तर र परिमाण दुवैलाई असर पुग्छ। तर, आन्दोलनको लामो समय भइसक्दा पनि निकास ननिस्किएपछि हरियो चिया टिपाइ अनिश्चित भएको छ।

प्रत्येक साता टिप्नुपर्ने हरियो पत्ती बोटैमा हुर्किंदा अर्को पटक हरियो मुना ढिलो पलाउँछ। मुना ढिलो पलाएपछि उत्पादन कम हुने उद्योगी बताउँछन्। श्रमिक आन्दोलनले इलाम र झापाका सरकारी बगानमा सबैभन्दा बढी हरियो पत्ती नष्ट हुँदैछ। सरकारी उद्योगले चिया नकिनेपछि आसपासका सयौं किसानको हरियो पत्तीसमेत खेर गइरहेको किसानले बताएका छन्। निजी केही उद्योगी खुला रहे पनि श्रमिकले काम नगरेपछि हरियो पत्ती टिप्न र क्षमताअनुसार चिया प्रशोधन गर्न नसकेको उद्योगले जनाएका छन्। जिल्लाकै ठूलो कन्याम चिया बगानमा यतिबेला दिनहुँ तीन हजार किलोसम्म चिया उत्पादन हुने भएपनि हरियो पत्ती बोटमै नष्ट भइरहेको बगान प्रबन्धक रजनीश मुदालियार बताउँछन्। ‘आफ्नो बगान र किसानको गरी यतिबेला दैनिक सात–आठ हजार किलो हरियो पत्ती प्रशोधन गर्ने बेला हो,’ उनले भने, ‘तर, अहिले बगान कारखाना दुवै ठप्प छ, कारखाना नखुल्दा करिब चार सय किसानले समेत हरियो चिया बेच्न पाएका छैनन्।’ दुई सय हेक्टरमा फैलिएको कन्याम चिया बगानमा बर्सेनि ५० हजार किलोभन्दा बढी फस्ट फ्लस र वर्षभर तीन लाख किलो हाराहारी तयारी चिया उत्पादन हुनेगरेको छ।
 
प्रबन्धक मुदालियारले यतिबेलाको हरियो पत्ती पनि वर्षभरकै सबैभन्दा महँगो मूल्यमा बिक्री हुने बताए।‘हरियो फस्ट फ्लस पनि प्रतिकिलो ८० रुपैयाँसम्ममा बिक्री हुनेथियो,’ उनले भने, ‘तर, हुर्केको पत्तीको अर्थाेडक्स उत्पादन गर्न सकिँदैन, तयारी फस्ट फ्लस पनि गुणस्तरीय बन्दैन।’ इलाममा अर्थाेडक्स तयारी चिया उत्पादन हुन्छ। अर्थाेडक्समा गुणस्तर नपुगेको हरियो पत्ती झापाका उद्योगमा पु¥याएर क्रस टियर कर्ल (सिटिसी) उत्पादन गरिन्छ। उनले हरियो पत्ती हुर्किसकेकाले अर्थाेडक्स चिया उत्पादन यो वर्ष कम हुने सम्भावना रहेको बताए। ‘त्यतिमात्र होइन, हरियो पत्ती टिप्न ढिलो भएपछि अर्काेपटक पलाउन पनि ढिलो हुन्छ,’ उनले भने, ‘अहिल्यै बगान खुलिहाले पनि उत्पादनसहित गुणस्तर त घट्ने नै भयो।’
 
श्रमिक आन्दोलनका कारण चैत १७ यता पूर्वका चिया बगान र कारखाना ठप्प छन्। केही निजी उद्योगले श्रमिकलाई न्यूनतम् ज्यालाका रूपमा नभई ‘पेस्की’ दिएर उद्योग चलाइरहेका छन्। तर, निजीकरण गरिएका इलामका चार र झापाका तीन सरकारी चिया बगानसहित अन्य निजी बगान–उद्योग बन्द रहेको श्रमिकले दाबी गरेका छन्। ‘केही उद्योगले न्यूनतम् ज्याला दिने प्रतिबद्धता गरेर उद्योग चलाएका छन्,’ श्रमिक नेता रमेश खड्काले भने, ‘न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने उद्योग बन्द नै छन्।’
 
श्रमिक आन्दोलनकै कारण इलाम चिया बगानमा पनि दैनिक हजारौं रुपैयाँको हरियो पत्ती खेर गइरहेको छ। अर्गानिक उत्पादनको प्रमाणपत्र पाएको एकमात्र सरकारी बगान इलाममा यतिबेला दैनिक ६ सय किलोसम्म हरियो पत्ती प्रशोधन हुन्थ्यो। उद्योगका अनुसार वर्षभर १० हजार किलो तयारी अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुने गरेकामा यो वर्ष श्रमिकले उद्योग र बगान दुवै ठप्प पारेका छन्।
 
इलामकै सोक्तिम र चिलिमकोट चिया बगानमा पनि हरियो पत्ती टिपाइमा असर पुगेको छ। झापाका बर्ने, बारादसी र टोकला चिया बगान पनि ठप्प रहेको ती उद्योगले जनाएका छन्। बर्सेनि करोडौं रुपैयाँको तयारी चिया उत्पादन हुने बगान फस्ट फ्लसकै बेला ठप्प हुँदा पनि सरकारले श्रमिकका माग पूरा गर्न चासो नदिएको श्रमिक नेता बताउँछन्। ‘हामीले न्यूनतम् ज्याला नपाएसम्म आन्दोलन रोकिँदैन,’ श्रमिक नेता विष्णु भट्टराई भन्छन्, ‘वर्षाैंदेखि श्रमिकको पसिना त्यसै खेर गएको छ, हामीले सरकारले तोकेको न्यूनतम् ज्यालाका लागि भोकै आन्दोलन गर्नुपरेपनि सरकार हाम्रो आन्दोलनमा संवेदनशील देखिएन।’  
 
सरकारले गत साउन १ देखि नै लागू हुनेगरी सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम् ज्याला दैनिक तीन सय ८५ रूपैयाँ तोकेको छ। कारखानाभित्र काम गर्ने श्रमिकको ज्याला त्यसमा दैनिक ४२ रुपैयाँ थपिएको छ। तर, सरकारी स्वामित्वकै चिया बगानका श्रमिक पनि दैनिक दुई सय ६५ रुपैयाँमा काम गर्न बाध्य भएपछि आन्दोलनमा उत्रिएका हुन्।
 
Published on: 14 April 2019 | Nagarik

Back to list

;