s

श्रमग्राम परिसर ताहाचलमा प्रहरीको छापा, ४५ जना पक्राउ

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुबाट अनावश्यक रकम असुल गरेको आरोपमा करीव ५५ जनालाई पक्राउ गरिएको छ ।
 
पक्राउ परेका मध्ये केही म्यानपावर कम्पनीका श्रम प्रतिनिधि र केही सोही कार्यालयका सवारी चालक रहेपनि अधिकांश सित्तैमा कामदारको रकम लुट्न पल्केका विचौलियाहरु रहेको बताइएको छ । उनीहरु ताहाचलस्थित  काठमाडौं कार्यालय परिसर र आसपासबाट पक्राउ  परेका हुन् । पक्राउ परेकामध्ये पाँच जना श्रम प्रतिनिधि र कार्यालयका एक सवारी चालकलाई बुधबार नै छोडिएको छ ।
 
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले श्रम स्वीकृतिका लागि आएका सेवाग्राहीको काम अड्काएर आफूले बीमा कम्पनीलाई तिर्नुपर्ने भन्दा धेरै रकम लिने गरेकोबारे गुनासो आएपछि  उनीहरुलाई नियन्त्रणमा लिएको बताए । सो कार्यालयमा सर्वसाधारणलाई काम गरिदिन्छु भनेर आवश्यकताभन्दा बढी रकम लिएको व्यापक गुनासो आएपछि काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । उनीहरुलाई पक्राउ  गर्नुको विकल्प नरहेको पोखरेलको भनाइ छ ।
 
प्राप्त जानकारी अनुसार मंगलबार प्राइम लाइफ ईन्सोरेन्ससंग आवद्ध एक महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिका लागि आएका एक युवाको विमा र अनलाईन  फर्म भरिदिने भन्दै ७ हजार रुपैयाँ लिएकी थिइन् । चित्त नबुझी–नबुझी ती महिलालाई उक्त रकम दिएर काम गराएका ती युवाले महानगरीय प्रहरी परिसर टेकुमा आफू अनाहकमा ठगीमा परेको गुनासोदाबी सहित उजुरी दिएपछि बुधबार प्रहरीले छापा मारेको हो ।
 
एसएसपी पोखरेलले वैदेशिक रोजगारीमा जाने कामदारले आफैंले नियम अनुसार काम गर्छु भन्दा समेत कामै गर्न नसक्ने वातावरण बनाउने स्थिति रहेकोभन्दै पीडितहरुको गुनासो अनुसार पक्राउ परेकाहरुमाथि छानविन पछि सार्वजनिक अपराध ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा मुद्दा चलाउने बताए ।
 
वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय तीनकुनेबाट ताहाचलमा सरेपछि वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई मानसिक त्रासमा पारी अनावश्यक रकम असुल्ने गरिएको गुनासो पटक–पटक आउने गरेको छ । ‘ईमेल एड्रेस’ बनाउन समेत पाँच हजारसम्म असुल्ने गरिएको र त्यसमा  कार्यालयका केही  घुस्याहा आचरणका सरकारी कर्मचारीहरुको समेत गोप्य साँठगाठ रहेको बताइएको छ ।
 
फर्म नभरी आउने, ‘ईमेल एड्रेस’ विना नै सेवा माग्न आउने सेवाग्राहीलाई कर्मचारीले चिटमा विचौलियाको नाम र मोवाईल नम्बर लेखेर दिई त्यहाँ सम्पर्क राख्नुस्, तपाइको काम छिट्टै हुन्छ भनी पठाउने र कार्यालय समयपछि ती विचौलियासँग भेट गरी शुभलाभ गर्ने भुक्तभोगीहरु बताउँछन् । केही कर्मचारी तीनै विचौलियाले संकलन गरेको रकमबाट नियमित खाजा खाने समेत गरेको बताइन्छ । कामदारहरुबाट चर्को असुली गर्न पाइने भएपछि कार्यालय परिसर वरिपरि टेवुल र ल्यापटप राख्नेहरुको दैनिक कमाई नै ५० हजार बढी हुने गरेको टिप्पणी छ । सटर कोठाका लागि विचौलियाबीच  तछाड–मछाड हुने गरेको छ । त्यसका कारण सो क्षेत्रमा रहेका सटर तथा कोठाको भाडा समेत अस्वभाविक रुपमा मंहगो रहेको बताइएको छ । यद्यपि त्यस क्षेत्रबाट महानगरपालिकाले उठाउने बहाल कर भने अत्यन्त न्यून रहेको छ ।
 
Published on: 8 March 2018 | Madhyanha

Back to list

;