s

श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छन् ।

वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबारबाट आयोजना गरेको 'श्रमाधान रोजगार मेला' को शुभारम्भको क्रममा उनले यो सुरुआतमात्रै भएको भन्दै मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी दिने बताइन् । कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल हुने उनले बताइन् ।

मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरु सञ्चालन गर्न सकिने बताइन् । उनले भनिन्, ‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो वर्षदेखि करिअर काउन्सिलबाट सुरु गर्दैछौं । अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुकभित्रै रोजगारी सिर्जना तथा स्वरोजगार बन्न युवाहरुलाई प्रेरित गर्नसक्छौं । सहकार्य लागि पनि हामीले छलफल चलाइरहेका छौं ।’

कार्यक्रममा वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए । मेलाको उपलब्धि तत्कालै नदेखिने भन्दै उनले यसले दीर्घकालीन रुपमा सकारात्मक परिणाम देखाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दैनिक १५ सयको हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भए पनि नेपाली युवालाई नेपालभित्रै रोकीराख्न मद्दत पुग्ने बताए । उनले भने, ‘हामीले हाम्रो नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई रोक्नेको निमित्त निश्चित तवरले इम्प्लोयमेन्ट जेनेरेसनको प्रोजेक्टहरु ल्याउनुपर्छ । खाली गफै गरेर, भाषणै गरेर संघ, प्रदेश र स्थानीय तहमा रातो पुस्तिकमा मात्रै लेखेर काम हुँदैन ।’

जेठ १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला वाग्मती को ललितपुरमा आजदेखि सुरु भएको हो । मेला भोलिसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

Published on: 12 June 2024 | Kantipur

Link

Back to list

;