s

'श्रमाधान रोजगार मेला' कोशीबाट सुरु

विराटनगर — रोजगारदाता र रोजगारी खोजीको दूरीलाई हटाउने भन्दै सरकारले श्रमाधान रोजगार मेला सुरु गरेको छ । बिहीबार कोशी प्रदेशबाट सुरु भएको मेला सात वटै प्रदेशमा हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा प्रदेश, स्थानीय तह र सरोकार निकायको आयोजनामा मेला सुरु भएको हो । कोशीमा शुक्रबारसम्म मेला चल्नेछ ।

विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा सुरु भएको मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षमा रोजगारी सिर्जनाका लागि सरकारले नयाँ कार्यक्रम र बजेट विनियोजन गरेको बताए । ‘रोजगारी सिर्जना गर्न सरकारले लिएको नीति, बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गर्न यो मेलाले मद्दत गर्नेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘हामीले रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रलाई आधार मानेका छौं भने यसको सूचना तथा प्रविधि क्षेत्रले नेतृत्व लिने गरी रोजगारीका कार्यक्रमहरू बनाएका छौं ।’

रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनःसंरचना गरिने उनले बताए । प्रधानमन्त्री दाहालले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने दाबी गरे । ‘वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदै छ,’ उनले भने, ‘एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक श्रम बजारमा रहेको अवसर पहिचान गर्न मेलाले सहयोग गर्ने बताए । ‘वैदेशिक रोजगारीमा पठाउन एजेन्टहरू घरघरमा पुगिरहेका छन् । तर, हाम्रो आन्तरिक श्रम बजारमा रहेको अवसर पहिचान हुन सकेको छैन । आन्तरिक श्रम बजारमा विदेशी श्रमिकहरूको बाहुल्य बढिरहेको छ । त्यो अवसर नेपाली श्रमिकलाई नै दिनका लागि यो मेलाको आयोजना गरिएको हो,’ उनले भने ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न केहीअघि श्रमाधान कल सेन्टर स्थापना गरेको र त्यसले प्रभावकारी ढंगले काम गरिरहेको उनले जानकारी गराए । कुनै बजेट नै नभएको अवस्थामा श्रमाधान रोजगार मेला सुरु गरेको र आगामी वर्षहरूमा यसलाई थप विस्तार गरेर लैजाने मन्त्री अर्यालले बताए । ‘मेलाले कतिलाई रोजगारी दिन्छ भन्ने होइन, केही न केही सुरुवात गरौं भनेर हो,’ उनले भने, ‘आगामी वर्ष यसलाई निकै व्यवस्थित गरेर लैजान्छौं ।’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपालको श्रम क्षेत्र कमजोर बन्दै जाँदा रोजगारीका अवसरहरू पनि खुम्चिएको बताए । ‘रोजगारी सिर्जनाका लागि औद्योगिक वातावरण चाहिन्छ । लगानीकर्ता बैंकहरूको नीतिगत कमजोरीबाट पीडित भइरहेका छन् । यसलाई हटाएर लगानीको वातावरण बनाउन म प्रधानमन्त्रीसमक्ष आग्रह गर्छु,’ उनले भने । श्रम सचिव घनश्याम उपाध्यायका अनुसार मेलाले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नेछ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण बनाउन सके मात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुने बताए ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ वाग्मती प्रदेशको ललितपुरमा जेठ ३० मा समापन हुनेछ । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ । रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ ।

कोषमा आबद्ध श्रमिक परिवारलाई उपचार सुविधा

सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् । बिहीबार विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिकमन्त्री डोलप्रसाद अर्यालले औपचारिक घोषणा गरेका हुन् ।

यसअघि २०७९ पुसदेखि औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले जेठ १७ देखि लागू हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको हो । यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउनेभएका छन् ।

कोषले यसका लागि तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र बिहीबारदेखि कार्यान्वयनमा आएको कोषका निर्देशक उत्तमराज नेपालले जानकारी दिए । त्यस्तै, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समयावधिलाई नौ महिनाबाट घटाएर तीन महिनामा झारेको छ । यसअघि कोषमा योगदान गर्न थालेको नौ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्थारहेको थियो ।

Published on: 31 May 2024 | Kantipur

Link

Back to list

;