s

श्रमाधान रोजगार मेला : बेरोजगारलाई रोजगार, रोजगारदातालाई कर्मचारी

अनामनगरमा बसेर ब्रिटिस कलेजमा ए लेभल (साइन्स) अध्ययन गर्ने जनकपुरका कृष्णचन्द्र शाह कुनै कम्पनीमा पार्टटाइम जब वा इन्टर्नसिप गर्न चाहन्थे । आफ्नै घरको पसलमा मार्केटिङको काम गरेका उनी आफ्नो सीप विकास गर्ने उपयुक्त स्थानको खोजीमा थिए । तर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला उनका लागि उपयुक्त स्थल बन्यो ।

मंगलबार र बुधबार ललितपुरको पाटन क्याम्पसमा भएको मेलामा भेटिएका शाहले मेलाका कारण काम खोज्न सजिलो भएको बताए । ‘मैले पहिला घरकै व्यापारमा मार्केटिङको काम गरेका थिएन । तर, म अहिले आफ्नै खुट्टामा उभिन चाहान्छु । त्यसका लागि राम्रो अवसरको खोजीमा थिएँ,’ उनले भने– ‘यो मेलाका कारण मलाई त्यस्तो अवसर खोज्न सजिलो भयो । मैले स्टलमा भएका कम्पनीमा इन्टर्नसिप, पार्टटाइम जब र शिक्षणलगायतको कामका लागि आवेदन दिएको छु । मलाई अवसर खोज्न सजिलो भयो ।’

यस्तै, काभ्रेकी ३२ वर्षीया रूपा खतिवडाले पनि मेलाका कारण काम खोज्न सजिलो भएको बताइन् । उनी सुरक्षा गार्डसम्बन्धी कामको खोजीमा थिइन् । ‘मैले स्टल भिजिट गरिरहेको छु । राम्रो कम्पनी पाइयो भने आवेदन दिनेछु,’ उनले भनिन्, ‘काम पाइन्छ–पाइँदैन थाहा छैन । तर, काम खोज्न भने सजिलो भएको छ ।’

यस्तै, नुवाकोटका ३५ वर्षीय शंकर घिमिरेले पनि मेलाका कारण काम खोज्न सजिलो भएको बताए । ‘विशेषगरी, मैले ड्राइभर र सुरक्षा गार्डका लागि काम खोज्दै आएको थिएँ । केही कम्पनी तथा संस्था सकारात्मक हुनुहुन्छ । साथै, अन्य स्टल (कम्पनी)मा गएर पनि बुझ्ने योजनामा छु,’ उनले भने ।

मन्त्रालयले १७ जेठबाट ३० गतेसम्म सातै प्रदेशमा दुई–दुई दिन आयोजना गरेको मेलामा करिब २४ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । साथै, रोजगारदाता कम्पनी तथा संस्थालाई पनि कर्मचारी खोज्न निकै सजिलो बनाएको छ । बुधबार मेलामा भेटिएका सिभी मिडिया स्किलका संस्थापक विदुर गिरीले मेलाका कारण कर्मचारी खोज्न सजिलो भएको बताए । ‘यस्तो मेला पहिला नै हुनुपर्ने थियो । यसले रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेका व्यक्तिहरूलाई जोड्न पुलको काम गरेको छ,’ उनले भने, ‘हामीले पनि मेलाका कारण दुईजना ग्राफिक्स डिजाइनर पाउन सक्यौँ । यद्यपि, हामीले १५ जना खोजेका थियौँ । तर, अधिकांशमा यससम्बन्धी सीप देखिएन । दुईजनामा भने आधारभूत सीप देखियो । उहाँहरूलाई रोजगारी दिने पक्का भएको छ ।’ अब सरकारले सीप विकाससम्बन्धी कार्यक्रम पनि अघि बढाउनुपर्ने उनले बताए ।

यस्तै, क्रिस्टल डायग्नोस्टिक प्रालिका बिजनेस डेभलोपर अफिसर आङदावा शेर्पाले पनि कर्मचारी खोज्न सजिलो भएको बताए । ‘हामीले मार्केटिङ अफिसर, डिजिटल मार्केटिङ, ल्याप टेक्निसियन, हाउस किपिङलगायतका कामका लागि म्यानपावर खोजेका थियौँ । त्यसमा एक सयभन्दा बढीले नाम टिपाउनुभएको छ,’ उनले भने, ‘यसअघि पनि डिजिटललगायतका माध्यमबाट कर्मचारी माग गरिरहेका थियौँ । तर, उनीहरूसँग प्रत्यक्ष रूपमा संवाद गर्न पाइएको थिएन । तर, अहिले प्रत्यक्ष रूपमै भेटेर कुरा गर्न पाइयो । समग्रमा यो मेलाले धेरै सहयोग भयो ।’

मेलाले रोजगार दाता कम्पनी र रोजगारीको खोजीमा रहेको सबै खाले युवालाई जोड्ने काम गरेको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए । यसअघि कम्पनीहरूले सामाजिक सञ्जालन, मिडिया, सार्वजनिक सूचनालगायतका माध्यमबाट कर्मचारी आह्वान गरिरहेको थिएँ ।

बागमतीमा १३,९७८ आवेदन

ललितपुरमा आयोजना गरेको दुईदिने श्रमाधान रोजगार मेला अनलाइनबाट १३ हजार नौ सय ७८ वटा रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारदाताबाट एक हजार पाँच सय पाँच श्रमिकको माग गरिएको छ । मंगलबार र बुधबार चलेको मेला करिब पाँच हजारले अवलोकन गरेका छन् ।

Published on: 13 June 2024 | Naya Patrika

Link

Back to list

;