s

श्रमाधान रोजगार मेला आजदेखि, प्रधानमन्त्रीले उट्घाटन गर्ने

१७ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ ।

मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा उद्घाटन गर्दैछन् ।

नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ गर्न लागिएको हो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, विराटनगर महानगरपालि प्रमुखलगायतको उपस्थिति रहनेछ ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा रहेका छन् ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशको विराटनगरबाट शुभारम्भ भएर यो मेला सातैवटा प्रदेशमा आयोजना गरिनेछ ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु रहेको मन्त्रालले जनाएको छ ।

मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने श्रम मन्त्रालयका उपसचिव एवं मेलाको कोशी प्रदेश संयोजक सुशील आचार्यले जानकारी दिए ।

मेलामा रोजगारीको खोजीमा रहेकाहरू रोजगारदातासम्म पुग्ने, अवसरको पहिचान गर्ने र आवश्यक सीपको बारेमा जानकारी पाउन सक्ने उनले बताए ।

जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।

कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ ।

Published on: 30 May 2024 | Onlinekhabar

Link

Back to list

;