s

श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ महिलालाई अध्यागमनले विमानस्थलबाटै फर्कायो

काठमाडौँ — वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना नेपाली महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले आइतबार फर्काएको छ ।

एससीसी म्यानपावर कम्पनीमार्फत जोर्डनको बहुर्राष्ट्रिय कम्पनी मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिलाहरुलाई अध्यागमनबाट फिर्ता पठाएको हो । उनीहरु शून्य लागतमा जोर्डनको रोजगारीमा छनोट भएका हुन् । ती महिला श्रमिकहरुको सबै सेवा शुल्क, भिसा, टिकट, स्वास्थ्य परीक्षणलगायत खर्च रोजगारदाता कम्पनीले नै ब्यहोरेको थियो ।

अध्यागमन कार्यालयले वर्किङ भिसा नदेखिएको र लगानी मन्त्रालयले भिसा नवीकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको पत्र भएकोले प्रस्थान दिन नसकिएको पत्र दिएको छ । अध्यागमन कार्यालयले रतनकाली घर्तीमगर, तुलसा कुँवर, विना तामाङ, अमनी तिरुवा, अपर्णा सुनुवार, रेनुका विश्वकर्मा, मञ्जु कामी, सुनिता दोङ, सृष्टि कोइराला सार्कीलगायत १५ जनालाई रोकेको हो । उनीहरुको आइतबार बिहान १० बजे एयर अरेबियाको उडान थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमन विभागले अनावश्यक दु:ख दिएर व्यवसायीहरुलाई आतंकित बनाएको बताए । ‘जोर्डनको लागि पेपर भिसा हुन्छ । त्यो अध्यागमनलाई थाहा छ । अनलाइनमा नदेखिने भएकोले त्यहाँको परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको भिसा श्रमिकको साथमा थियो । एक हप्ता अगाडि पनि यसरी त्यही भिसा बोकेर १५ जना जोर्डन थियो’, उनले भने, ‘वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति भइसकेपछि रोक्नुको कुनै तुक छैन । यो विषय गम्भीर छ । हामी गृहमन्त्रीसमक्ष यो विषय राख्ने तयारी गरिरहेका छौं ।’

Published on: 10 July 2023 | Kantipur

Link

Back to list

;