s

श्रम स्वीकृति लिन नक्कली मागपत्र

तीन वर्षअघि राजधानीमा खुलेको एक म्यानपावर कम्पनीले श्रम स्वीकृति लिन नक्कली मागपत्र (डिमान्ड लेटर) पेस गरी ठगी गर्न लागेको खुलेको छ। काठमाडौंको बसुन्धारास्थित खोजी रिक्र्युटमेन्ट सर्भिसेस प्रालिले एक सय नेपालीलाई मलेसियामा सुरक्षा गार्डको रोजगारी दिने भन्दै श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा पेस गरेका सम्पूर्ण कागजात जाँचबुझ गर्दा नक्कली भएको खुलेको हो।

वैदेशिक रोजगार विभागका अनुसार उक्त म्यानपावर कम्पनीले सुरक्षा गार्डमा मलेसिया जानलाई प्रतिव्यक्ति मासिक १४ सय ५० मलेसियन रिंगेट (करिब साढे ४० हजार रुपैयाँ) तलब रोजगारदाता कम्पनीले दिने भनी तीन दिनअघि निवेदन पेस गरेको थियो। निवेदनमा तलव ९ सय ५० र ओभर टाइम ५ सय गरी मासिक १४ सय ५० रिंगेट कामदारलाई दिइने उल्लेख छ।

'ठगी गर्ने उद्देश्यले खोजी रिक्र्युटमेन्ट सर्भिसेस प्रालिले एक सय जनालाई मलेसियामा रोजगारी दिने भन्दै नक्कली कागजात पेस गरेको पाइयो,' वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले नागरिकसँग भने, 'थप छानबिन भइरहेको छ।' 

एक जना नेपालीलाई मलेसिया पठाउँदा म्यानपावर कम्पनीले अधिकतम ८० हजार रुपैयाँ उठाउन पाउने सरकारी प्रावधान छ। म्यानपावर कम्पनीले कामदारसँग पैसा उठाउँदा कागजमा सरकारले तोकेको अधिकतम खर्च अनुसार नै देखाए पनि वास्तवमा त्योभन्दा बढी रकम उठाउने गर्छन्। नक्कली कागजात पेस गरी खोजी रिक्र्युटमेन्ट सर्भिसेसले एक सय जना बराबर कम्तीमा ८० लाख रुपैयाँ उठाई ठगी गर्ने देखिएको विभागले जनायो। 
म्यानपावर कम्पनीले कामदार विदेश पठाउनुअघि पत्रपत्रिकामा विज्ञापन गर्दा श्रम स्वीकृति लिनु अनिवार्य छ। विभागबाट श्रम स्वीकृति लिएपछि मात्र म्यानपावर कम्पनीले फलानो देशका लागि यति कामदार आवश्यक भनी विज्ञापन प्रकाशन र प्रसारण गर्न पाउने प्रावधान छ। 
श्रम स्वीकृतिका लागि पेस गरिने निवेदनमा रोजगारदाता कम्पनी, रोजगार संख्या, मासिक तलब तथा अन्य सुविधा स्पष्ट खुलाउन आवश्यक छ। विभागले निवेदन स्वीकृत गरेपछि सोही अनुसार व्यहोरा विज्ञापनमा राख्ने गरिन्छ। 
यसै अनुरुप खोजी रिक्र्युटमेन्ट सर्भिसेसले श्रम स्वीकृतिका लागि आकर्षक सेवासुविधासहित ठूलो संख्यामा नेपाली कामदारको सूची पठाएपछि विभागले कागजातको आधिकारिकताबारे छानबिन गरेको थियो। प्रारम्भिक छानबिनमै श्रमस्वीकृत लिन विभागमा निवेदनसाथ पेस गरिएको मागपत्र, अधिकार प्रत्यायोजन पत्र, ग्यारेन्टी लेटर, रोजगारदाता तथा कामदार उपलब्ध गराउने कम्पनीबीचको करारपत्र र कम्पनी-कामदारबीचको करापत्र सबै नक्कली पुष्टि भएको विभागले जनायो। 
रोजगारदाता कम्पनी मात्र होइन निवेदनका साथ पेस गरेको कागजातमा भएको मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत लेखनाथ भट्टराईको हस्ताक्षर (हुबहु मिल्ने) समेत नक्कली प्रमाणित भएको छ।

'कार्यवाहक राजदूत लेखनाथ भट्टराईको हस्ताक्षरबारे उहाँसँग नै बुझ्दा सो म्यानपावर कम्पनीको कुनै पनि कागजात दूतावासले प्रमाणित नगरेको र त्यहाँ भएको हस्ताक्षर पनि आफूले नगरेको बताउनुभयो,' महानिर्देशक भट्टराईले जानकारी दिए, 'त्यसपछि म्यानपावरको ठगी गर्ने उद्देश्य बुझियो।' 
विभागका अनुसार श्रम स्वीकृतिका लागि पेस भएको कागजातमा मलेसियाको रामला सेक्युरिटी प्रालिले कामदार पठाउने जिम्मेवारी खोजी रिक्र्युटमेन्ट सर्भिसेसलाई दिएको उल्लेख छ। 
विभागका अनुसार मागपत्रमा उल्लेख गरिएको रोजगारदाता कम्पनी पनि नक्कली खडा गरिएको हो। सम्पूर्ण कागजात नक्कली र उद्देश्य ठगी गर्ने स्पष्ट भएपछि विभागले श्रम स्वीकृति दिन रोकी छानबिन अघि बढाएको विभागले जनायो। 
'ठगी गर्ने उद्देश्य स्पष्ट देखिएकाले म्यानपावर सञ्चालकसँग बयान लिई तारेखमा छाडेका छौं,' महानिर्देशक भट्टराईले भने, 'किर्ते वा गलत कागजात पेस गरेमध्ये एकको आरोपमा मुद्दा अघि बढाउँछौं।' गलत कागजात पेस गरेको पुष्टि भएका दुई लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ।

Published on: 6 February 2013 | Nagarik

 

Back to list

;