s

श्रम स्वीकृति गण्डकीबाट पनि सुरु

तुलसी सुवेदी

वैदेशिक रोजगारका सेवा विकेन्द्रित हुन थालेका छन्। सरकारले केही दिनभित्रै सातवटै प्रदेशबाट सेवा दिने गरी तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबारदेखि गण्डकी प्रदेशबाट श्रम स्वीकृति दिने भएको छ। वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले सबै प्रदेशबाट श्रम स्वीकृति दिने तयारी गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गण्डकी प्रदेशबाट बिहीबारदेखि वैदेशिक रोजगारका सबै सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मन्त्रालयले पुस १५ देखि बुटवल र जनकपुरबाट सेवा सुरु गरिसकेको छ। मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार अन्य प्रदेशबाट पनि छिट्टै सेवा सुरु हुनेछ। ‘केही दिनमै सबै प्रदेशबाट सेवा सुरु हुन्छ, अन्य प्रदेशको पनि तयारी अन्तिम चरणमा पुगेको छ’, उनले भने।
 
प्रदेशबाटै सेवा सुरु भएसँगै वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयमा सेवाग्राहीको संख्या कम हुँदै आएको छ। वैदेशिक रोजगार विभागका अनुसार दैनिक एक हजार पाँच सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्। उनीहरूलाई केही समय अघिसम्म वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले मात्रै श्रम स्वीकृति दिने गरेको थियो। प्रदेश कार्यालयबाटै श्रम स्वीकृति दिनुका साथै पीडितको उजुरी लिने र अनुसन्धान गरी पीडकलाई कारबाही गर्नेछन्।
 
श्रम विभागअन्तर्गत हरेक प्रदेश राजधानीमा श्रम कार्यालय स्थापना भइसकेका छन्। ती श्रम कार्यालय मातहत वैदेशिक रोजगार एकाइ छन्। गण्डकी प्रदेशमा रहेका श्रम कार्यालयका वैदेशिक रोजगार एकाइले डिमान्ट लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने र उजुरी फछ्र्योटलगायत काम गर्नेछन्। यस्तै प्रदेश कार्यालयले अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्नेे, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने, कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्नेछन्। गण्डकी प्रदेशले बिहीबारदेखि नै सबै सेवा दिनेगरी तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
 
अधिकृतको नेतृत्वमा कम्प्युटर अपरेटर, सुब्बा, सहायकलगायत गरी कम्तीमा ६ जनासम्म कर्मचारी रहने गरी गण्डकी प्रदेशमा कर्मचारीको व्यवस्था गरिएको छ। वैदेशिक रोजगार विभागमा अत्यधिक भीड लाग्न थालेपछि सरकारले २०७० देखि ताहाचलमा वैदेशिक रोजगार काठमाडौं कार्यालयसहित मलेसिया, साउदी र कतार शाखा कार्यालय स्थापना गरेको थियो। ती कार्यालयमा पनि सेवाग्राही अधिक हुँदा कामदार घण्टौं लाइन लाग्न बाध्य छन्।
 
Published on: 10 January 2019 । Annapurna Post

Back to list

;