s

श्रम स्वीकृति दिएपछि पनि ठगी गर्छन् म्यानपावर

वैदेशिक रोजगारीको चक्करमा रकम फसाउनेको दिनचर्या फेरि त्यसलाई कसरी उठाउने भन्नेमा व्यतित हुन्छ। श्रम स्वीकृतिसहित अन्य सबै कागजात बनाएर ठगी गर्ने म्यानपावरको फन्दामा पर्दा दुःख पाएकी ताप्लेजुङकी रूपा लिम्बूको कथा यस्तै दुःखदायी छ। रकम उठाएर म्यानपावर सञ्चालक बेपत्ता भएपछि आफू ठगिएको उनले थाहा पाएकी थिइन्।

‘१३ लाख भनेको थोरै रकम होइन,’ उनी भन्छिन्, ‘हामीले सुरुमै पैसा दिएका होइनौं। सरकारी निकायबाटै श्रम स्वीकृति प्राप्त भएको थियो। म्यानपावरले कागजात हातमा हालिदिएपछि हामीले परीक्षण गर्दा सबै सक्कली थियो। क्रोएसिया जाने दिन पक्कापक्की भएपछि सबै पैसा दिएका थियौं। म्यानपावर सञ्चालक सम्पर्कविहीन भएपछि आफू फसेको चाल पायौं।’

वैदेशिक रोजगारीको चक्करमा फसेको १३ लाख रूपैयाँ उठाउन रूपा दैनिक भौतारिरहेकी छिन्। दुई वर्षअघि मुन ह्युम्यान रिसोर्स म्यानपावरबाट उनका भाइ वैदेशिक रोजगारीका निम्ति क्रोएसिया जाने चाँजो मिलेको थियो।

त्यही बेला उनले ऋण गरेर पैसा बुझाए पनि उनी जान पाएनन्। अहिले उनको एक मात्र उद्देश्य जसरी पनि त्यो पैसा उठाउने छ। तर, यसमा उनीहरूको आशा मरिसकेको छ।

म्यानपावर सञ्चालक दुई-तीन जना भए पनि पैसा निर्दोष सर्वसाधारण व्यक्तिको नाममा जम्मा गर्न लगाएका कारण अहिलेसम्म सञ्चालक पक्राउ पर्न नसकेको रूपाले बताइन्। चिनजानका आफन्तबाटै घर न घाट भएका छौं,’ उनले भनिन्, ‘पैसा खाने अरू छन्। तर, निर्दोष व्यक्ति पक्राउ परेको छ।’

सरकारी निकायबाट श्रम स्वीकृत भएसँगै अन्य प्रक्रिया सही छ भन्ने विश्वासमा परेर आफू ठगिएको रूपाले बताइन्।

म्यानपावर सञ्चालकले १३ लाख बुझाए क्रोएसियाबाट सिधैं पोर्चुगल पुग्ने आश्वासन दिएको थियो।

अहिलेको समयमा कही पढेका, जान्ने, बुझ्ने र केही गर्छौ भनेर अगाडि बढेका मान्छेलाई सरकारी निकायबाट सूचीकृत म्यानपावरहरूकै मिलेमतोमा ठगी भएको रूपाले बताइन्।

‘मुन म्यानपावरले खटाएका कर्मचारीको बैंक खातामा पैसा हाल्दा सञ्चालकले पैसा लिएको कुनै तवरले देखिन्न। वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधीकरणसम्म पुग्दा पनि ठग्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सकेका छैनौं। अब सर्वोच्च अदालतमा जाँदैछौं,’ उनले भनिन्।

ठगीमा परेका भाइका तर्फबाट दिदी रूपा लड्दै छन्। भाइलाई भने उनले डल्स म्यानपावरद्वारा क्रोएसिया पठाइसकेकी छिन्। ‘हाम्रो लागि त्यो पैसा जीवन हो। भाइ विदेश पठाउने सपनामा पैसा कसरी फस्यो थाहा नै भएन। सपना जस्तै लाग्छ। घरको परिवार सबै दुःखमा थिए,’ रूपाले भनिन्, ‘सधै चिन्तामा परेर पनि हुन्न नि ! कोही त आटिलो भएर लडाउनेसँग लड्नुपर्‍यो। एक न एक दिन अवश्य जितिन्छ।’

उनैले भाइलाई आँट दिएर क्रोएसिया पठाएकी हुन्। भाइ क्रोएसिया पुगेको वर्ष दिन पुग्न लागेको छ। पुनः आठ लाख ऋण गरेर क्रोएसिया पुगेका रूपाका भाइले अहिले घरमा करिब लाख रूपैयाँ पठाउने गरेको छ।

भाइ क्रोएसिया पुगेकोमा भने उनी खुसी छन्। पहिलो पटक भाइ बिदेसिन नपाएपछि परिवारमा ठूलो दुःख आइपरेको थियो। छोरा विदेश पुगे पनि लिम्बू परिवारमा अझै खुसी छाएको छैन। ऋण गरेर मुन म्यानपावरलाई बुझाएको पैसा उठ्ला कि नउठ्ला भन्ने ठूलो अन्योलमा रूपा परेकी छिन्।

जहाँ पनि आफ्नो मान्छे भयो भने काम हुने हो। सरकारी निकायमा पनि आफ्नै मानिस चाहिने रहेछ। आफू ठगीएको गुनासो लिएर विभाग जाँदा धेरै भनाई खाएको उनी बताउँछिन्।

विभागका कर्मचारीले आफूलाई असहयोग गरेको उनले बताइन्। ‘पढेलेखेको र जुत्ता लगाएर आउनुभएको रहेछ, चप्पल पट्काएर आउनु भएको भए हामीले ठेगान लगाउथ्यौं,’ कर्मचारीले आफूलाई भन्ने गरेको कुरा सम्झिँदै उनले भनिन्। यसो भन्दै गर्दा उनका आँखा भरिएका थिए।

‘घरमा आर्थिक संकट आएपछि कक्षा १२ मा अध्ययरत भाइ बिदेसिनुपर्‍यो। चिन्ता लिएर पनि के गर्नु र? भाइको निराशा देख्न नसकेर ऋणमाथि ऋण थुपारी क्रोएसिया नै पठाए,’ रूपाले भनिन्।

‘विदेश जाँदै हुनुहुन्छ भने सम्बन्धित व्यक्तिको बैंक खातामा प्रयोजन खुलाएर मात्रै पैसा हाल्नुहोला। विदेश पुग्नु ठुलो कुरा होइन। त्यहाँ पुगेपछि झन् ठूलो समस्यामा पर्न सकिन्छ। त्यसको लागि पहिला स्वयं सचेत रहन जरुरी छ,’ उनी भन्छिन्।

सरकारी निकाय मातहत रहेकै ठगी गर्ने म्यानपावरवालालाई कडा कारबाही नगर्दासम्म नेपाली युवा जोखिममा परिरहने वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्र गोलेले बताए।

‘सरकारी निकाय नै चुप छ। नेपालमा कानुन छ। तर, त्यसको कार्यान्वयन छैन। यहाँ म्यानपावरको त भर छैन। एजेन्ट र दलालको झन के भरोसा?,’ उनले भने।

गैरकानुनी काममा नलागी देशको कानुनअनुसार म्यानपावर कम्पनीले फेसागत मर्यादा र नैतिकतामा रहेर काम गर्नुपर्नु सुझाव गोलेको छ। कानुनविपरीत कार्य गर्ने म्यानपावरलाई कानुनी दाएरामा ल्याउने जिम्मा विभागको रहेको उनले बताए। जोखिममै परेर भए पनि विदेश जाने युवाको सोच भएकै कारण ठगीमा पर्ने गरेका छन्।

Published on: 28 December 2023 | Nagarik

Link

Back to list

;