s

श्रम स्वीकृति दिने सुदूरपश्चिमकै पहिलो स्थानीय तह बन्यो भीमदत्त नगरपालिका

मोहन विष्ट

कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम स्वीकृत दिन सुरु गरेको छ । श्रम स्वीकृत दिने सुदूरपश्चिमकै पहिलो पालिकाका रूपमा भीमदत्त नगरपालिकाले सोमबारदेखि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरेको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सक्ने नगरपालिकाले जनाएको छ ।

सेवा सुरु गरेकै दिन नगरका २ युवाले श्रम स्वीकृति लिएका छन् । भीमदत्त नगरपालिका– ८, तिलाचौरका भवानसिंह भण्डारी र भीमनपा–९, ब्रह्मदेवका आनन्दसिंह रावतले श्रमस्वीकृति लिएका हुन् । नगरपालिका उपप्रमुख निलम लेखकले श्रम स्वीकृत गर्न आएका दुवै सेवाग्राहीलाई स्वागत गरेकी थिइन् ।

नगर उपप्रमुख लेखकले रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृत लिन सकिने बताइन् । ‘विगतमा श्रम स्वीकृत लिन काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । तैपनि, समयमा काम नहुने, खर्च बढी हुनेलगायतका थुप्रै समस्याबीच वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘जब सरकारले श्रमस्वीकृत स्थानीय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो, त्यसैबेला देखि हाम्रो पालिकाले समेत काम अघि बढाएको हो ।’

स्थानीय सरकारबाटै श्रम स्वीकृति पाएपछि भीमदत्त नपा–९, ब्रह्मदेवका आनन्दसिंह रावतले ठूलो सुविधा पाएको बताए । ‘पहिला यो श्रम स्वीकृत लिन काठमाडौं जानुपथ्र्यो, त्यहाँ होटेलमा बस्न, आउन, जान गाडीभाडा लगायत धेरै खर्च हुन्थ्यो, ‘उनले भने, ‘खर्च भए पनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगरिदिनेलगायतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियोे, अब घरछेउको नगरपालिकाबाटै श्रम स्वीकृत पाउँदा निकै खुसी लागेको छ ।’ नगरपालिकाका रोजगार संयोजक मीनबहादुर महराले सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, भ्याइदिन, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको बताए ।

१६ चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।

सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ । स्थानीय तहबाटै श्रम स्वीकृतका सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान जाहने नेपाली श्रमिकलाई सुविधा हुने भएको छ ।

Published on: 25 April 2023 | Naya Patrika

Link

Back to list

;