s

श्रम–सम्झौता नभएका मुलुकमा कामदार नपठाउन आग्रह

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले श्रम–सम्झौता नगरी कुनै पनि मुलुकमा नेपालीलाई नपठाउन आग्रह गरेका छन् । कामदार पठाउनुपूर्व नेपालले वैदेशिक रोजगारीका लागि जाने मुलुकसँग श्रम–सम्झौता गर्नु जरुरी भएको बताए ।
 
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले दक्षताविना नै वैदेशिक रोजगारीमा जाने गरेका नेपाली कामदारले धेरै दुःख पाएको बताए । ‘रोजगारीका लागि खाडी मुलुक जाने महिला कामदारलाई एउटा कामका लागि भनेर घरायसी काममा लगाउने गरिएको पाइन्छ’, उनले भने, ‘आफू कुन कम्पनीमा काम गर्न जाँदै छु भन्ने थाहा नपाउँदा महिला कामदार पीडित बन्नुपर्ने अवस्था आइरहेको छ।’
 
खाडी मुलुकमा नेपाली राजदूतावासले कामदारबाटै ६० करोडभन्दा बढी आम्दानी गर्ने गरेको भए पनि नेपालीले सोहीअनुसारको सेवा नपाएको अध्यक्ष शर्माको भनाइ छ । कामदारलाई सुरक्षित बनाउनका लागि विदेश जाने रुटसमेत प्रस्ट हुनुपर्ने उनले बताए । ‘बेरोजगारीका कारण नेपालीहरू बिदेसिने क्रम बढिरहेको भए पनि नेपालमा रोजगारीको अवस्था सिर्जना गर्ने अवस्था क्षितिजमा पनि देखिँदैन,’ उनले भने ।
 
मानवअधिकार आयोगले सोमबार बिहान ९ः३० देखि ११ः३० सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूबारे बुझ्दा अधिकांशलाई कामको प्रकृति र आफू जाने मुलुकको राजधानी, काम गर्ने कम्पनीबारे समेत थाहा नभएको आयोगका सदस्य सुदीप पाठकले बताए । ‘अधिकांशलाई सामान्य कुराको ज्ञानसमेत रहेनछ । वैदेशिक रोजगारीबारे थाहा छैन, साथी को–को छन् समेत थाहा नभएको जबाफ पाइएको थियो,’ पाठकले भने, ‘आफू कुन मुलुकमा काम गर्न जाँदै छु भन्ने विषयमा जानकारी नपाईकनै म्यानपावर कम्पनीलाई कागजपत्र बुझाएको र घरपरिवारलाई कुन कामका लागि कति समयका लागि जाँदै छु भन्नेबारे जानकारी नगराएको पाइएको छ ।’ आफ्नै घरपरिवारलाई समेत जानकारी नहुँदा विदेशमा दुर्घटनामा परेको खण्डमा परिवारसमेत बेखबर हुने अवस्था देखिएको पाठकले बताए ।
 
Published on: 19 December 2017 | Naya Patrika

Back to list

;