s

श्रम सम्झौता नवीकरण गर्न नेपाल र कतार सहमत

कान्तिपुर संवाददाता 

काठमाडौँ — कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन् । कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विमर्श भएको छ ।

मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए । सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको छ ।

मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल आउन निमन्त्रणा गरेका छन् । गत मंसिरमा काठमाडौंमा भएको नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यन्वयनबारे पनि सो अवसरमा छलफल भयो । नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो । 

यस्तै कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुन: एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो ।

भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायत विषयमा पनि छलफल भएको छ । 

मन्त्री मारीले कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए । भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालका साथै नेपाली दूतावासका अधिकारीहरु उपस्थित थिए । साथै कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्ली समेत थिए । 

नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ । श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए ।

Published on: 22 March 2022 | Kantipur

Link

Back to list

;