s

श्रम समझदारी पूर्ण कार्यान्वयन गर्न मलेसियाली गृहमन्त्रीलाई आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाली गृहमन्त्री दतुक सेरी सैफुद्धिन स्माइलबीच भेटवार्ता सम्पन्न भएको छ।

वार्तामा श्रममन्त्री डोलप्रसाद अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई त्यहाँका नागरिक सरह समान व्यवहार गर्न आग्रह गरे। उनले सेवाशर्त, स्वास्थ्य सुविधा तथा कार्यवातावरणमा समान व्यवहार हुनुपर्ने धारणा राखे।

मन्त्री अर्यालले नेपाल सरकार र मलेसिया सरकारबीच भएको द्वीपक्षीय श्रम समझदारीको नवीकरण तथा संयुक्त कार्यसमितिको नियमित बैठक गर्नुपर्ने आवश्यकता समेत औंल्याए।

उनले नेपाल मलेसियाबीच भएको श्रम समझदारी पूर्ण कार्यान्वयन गर्न तथा समझदारीअनुसार सेवा शर्त तथा सुविधा नेपाली श्रमिकहरूलाई उपलब्ध गराउन पनि जोड दिए।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणाली(सोक्सो)मा पूर्ण रुपमा आवद्ध गराउन पनि उनले आग्रह गरे।

मलेसियामा ठूलो संख्यामा नेपाली श्रमिकहरू सुरक्षा गार्डका रूपमा कार्यरत छन्।

उनीहरूलाई खटिएको समय र क्षमताअनुसार पारिश्रमिक तथा सेवासुविधा उपलब्ध हुनुपर्ने तर्क मन्त्री अर्यालको थियो।

त्यहाँ कमाएको रकम औपचारिक माध्यमको प्रयोग गरी नेपाल पठाउने कार्यमा मलेसियाले सहजीकरण गरिदिनुपर्ने पनि अर्यालको तर्क थियो।

मलेसियाली गृहमन्त्री सैफुद्धिनले दुई देशबीच भएको श्रम समझदारी कार्यान्वय गर्न आफूहरू प्रतिवद्ध रहेको बताए।

उनले मलेसिया सरकारले विदेशी श्रमिकहरूका लागि नयाँ योजना ल्याएकाले त्यसमा नेपाली श्रमिकहरू सहभागी गराउन सहजीकरण गरिदिन आग्रह गरे।

Published on: 6 February 2023 | Setopati

Link

Back to list

;