s

श्रम सहचारी पठाउन परराष्ट्रद्वारा सहमति

श्रम मामिलामा सहयोग पुर्‍याउन परराष्ट्र मन्त्रालयले थप दुईसहित ६ वटा मुलुकमा श्रम सहचारी पठाउन सहमति दिएको छ । श्रम मन्त्रालयले नियुक्ति गरेर पठाएको तीन महिनापछि शुक्रबार परराष्ट्रले सहमति दिएको हो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेलगत्तै श्रम सहचारी पठाउन सहमत हुँदै छिट्टै प्रक्रिया अगाडि बढाएको बताए । 'ऐनमै केही सुधार्नु भए पनि त्यसलाई पछि मिलाउने गरी श्रमसहचारी पठाउन लागिएको हो,' उनले भने ।

श्रमले साउदी अरब, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स -यूएई), कुबेत र दक्षिण कोरियामा श्रम सहचारी नियुक्ति गरी सहमतिका लागि परराष्ट्रलाई अनुरोध गरेको थियो । कुबेत र दक्षिण कोरियामा पहिलो पटक श्रम श्रम सहचारी पठाउन लागिएको हो भने बाँकी चार मुलुकमा खटिएका श्रम सहचारीको कार्यावधि सकिसकेको छ । यूएईमा पठाएको श्रम सहचारी पार्वती अर्याल भने राजदूतले असहयोग गरेको बताउँदै फर्किसकेकी छिन् ।

'अब दुई महिनाभित्र सम्बन्धित मुलुक पठाइनेछ,' श्रमका एक उच्च अधिकारीले कान्तिपुरलाई भने, 'उहाँहरूलाई भाषा, कूटनीतिको तालिम दिएर पठाइनेछ ।'

यसपटक श्रम सहचारीमा जानेमा दुई महिला अधिकृत छन् । श्रम सहचारीबारे यसअघि भएको विवादबाट मुक्त हुन श्रमले परराष्ट्रकै सल्लाहमा मापदण्ड बनाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गरेको थियो । प्रतिस्पर्धाबाट अमलकिरण ढकाल -मलेसिया), चण्डेश्वर आर्चाय -साउदी अरब), कृष्णहरि पुष्कर कर्णकार -दक्षिण कोरिया), सिर्जना तिवारी -कुबेत), हीरा पौडेल -यूएई) र इन्द्रलाल पाण्डे -कतार) छानिए । कुबेत महिला कामदार समस्या बढी भएको मुलुक हो । 'सम्बन्धित विषयका अनुभवी र योग्य कर्मचारीलाई श्रम सहचारीमा नियुक्ति गरेर पठाइएको छ,' श्रम प्रवक्ता पूर्णचन्द्र भट्टराईले भने ।

उनीहरू सबै श्रमकै कर्मचारी हुन् । श्रम सहचारी दूतावासमा राजदूत मातहतमा रहन्छन् ।

वैदेशिक रोजगार ऐनअनुसार ५ हजारभन्दा बढी महिला कामदार भएको मुलुकमा श्रमसहचारी पठाउने नियम छ । मन्त्रिपरिषद्ले १० मुलुकमा श्रमसहचारी पठाउन मापदण्ड स्वीकृत गरे पनि परराष्ट्रले ६ वटामा मात्रै सहमति दिएको हो । जापान, इजरायल, हङकङ, र ओमानमा श्रम सहचारीको सहमति दिएको छैन ।
होम कार्की

Published on: 7 November 2011 | Kantipur 

Back to list

;