s

श्रम फाराम भर्ने नाममा बिचौलियाबाट ठगी

अर्जुन काफ्ले
 
काठमाडौं: वैदेशिक रोजगारीमा जाने नेपाली पाइला पाइलामा ठगिन बाध्य छन्। उनीहरू वैदेशिक रोजगार विभागमा श्रम गर्न जाने क्रममा विचौलिया र स्थानीय एजेन्टबाट ठगिने गरेका छन्। 
 
विभागको बाफलमा रहेको कार्यालय पुग्ने सेवाग्राही फाराम भर्नेदेखि अन्य कामका नाममा ठगिने गरेका हुन्। सेवाग्राहीलाई स्थानीय विचौलीयाले विभिन्न बहानामा ठगी गर्ने गरेको पीडित बताउँछन्।
 
युएईबाट बिदामा नेपाल फर्किएका म्याग्दीका धुव्र क्षेत्रीले श्रम फारम भरेको नै एक हजार रुपैयाँ बुझाएको बताए।क्षेत्रीसँग बिमा रकमबाहेक फारम भरेको विचौलियाले हजार रुपैयाँ असुलेका थिए। 
 
फारम भरेको बाहनामा विचौलियाले सेवाग्राहीसँग तीन सयदेखि एक हजार रुपयाँसम्म असुल्ने गरेका छन्। ‘विदेशबाट आएको भन्दै विचौलियाले मनपरी रकम लिदा रहेछन्,'क्षेत्रीले भने।
 
कलंकीबाट विभागको कार्यालयसम्म खोलिएका ट्राभल एजेन्सी र अन्य पसलमा श्रम फाराम भर्ने गरिएको छ। उनीहरूले श्रम फाराम भर्ने र म्यादी जीवन बिमा गर्ने गरेका छन्। जनकपुरका सुशील मण्डल वैदेशिक रोजगारमा जाने नेपालीलाई लुट्न पसल खोलेर विचौलिया बसेको आरोप लगाउँछन्। 
 
फारम भरेको विचौलीयाले मण्डलसँग पाँच सय रुपैयाँ असुले। मण्डलले सेवा ग्राहीले आफै भर्न सक्ने फारम पनि विचाैिलयाले विभिन्न बहानामा उनीहरूले नै भर्ने गरेको वताए। म्यादी जीवन बिमा गरिएको एजेन्टले नै फाराम भर्ने गरेका छन्।
 
श्रम विभाग पुगेका नेपालीलाई छिटो काम गर्ने भन्दै विचौलियाले रकम लिने गरेका छन्। साउदी र कतारका लागि एक हजार र मलेसिया र अन्य देशलाई पाँच सय थप रकम दिए काम छिटो गरिदिने भन्दै रकम असुल्ने गरेको जनकपुरका लक्ष्मी शाह बताउँछन्।
 
'श्रम स्विकृतिका लागी बसेको लाइनमै छिटो काम गर्ने हो भन्दै विचौलिया आउने गरेका छन्', शाहले भने, ‘सेवाग्राही लाइन बस्ने चौरमा प्रहरीले अन्यलाई प्रवेश गर्न नदिए पनि विचौलियालाई सो ठाउमा जान खुला जस्तै छ।'
 
रकम दिनेले २५ मिनेटदेखि आधा घन्टामा काम सक्ने गरेको एक सेवाग्राहीले बताए। छिटो काम गर्न कर्मचारीसँग सेटिङ मिलाएरै गर्ने गरेको विचौलिया बताउँछन्।
 
Published on: 25 May 2016 | Kantipur

Back to list

;