s

श्रम काउन्सेलर र सहचारीको आवदेन खुल्यो

श्रम तथा रोजगार मन्त्रालयले दुईजना काउन्सेलर श्रम र दुई जना श्रम सहचारीको आवेदन खुलाएको छ । आगामी  फागुन २७ गते देखि नेपाली दूतावास साउदी अरेबियाको रियाद र यूएईको आबुधावीमा  काउन्सेलर श्रम र सोही मिति देखि नेपाली दूतावास कतार दोहा र नेपाली दुतावास बहराईन मनामामा श्रम सहचारी पद रिक्त हुँदैछ ।  श्रम तथा रोजगार मन्त्रालयमा अत्यन्तै आकर्षक मानिने काउन्सेलर श्रम र श्रम सहचारीको कार्यवधि २ वर्षको हुन्छ ।
 
मन्त्रालयले माताहत कार्यालय र विभागमा लगातार एक वर्ष  कार्यरत रहेको तथा निजामती सेवाको कम्तीमा राजपत्रांकित तृतीय श्रेणी अधिकृतको कर्मचारीको रुपमा सेवा प्रवेश गरी सेवा अवधी ३ वर्ष पूरा भएको कर्मचारीबाट काउन्सेलर श्रम र श्रम सहचारी  छनौट गर्ने बताएको छ ।
 
बहराइनमा कार्यरत श्रम सहचारी जगदिशचन्द्र शिवाकोटी उपसचिवमा बढुवा भई फिर्ता आउन लागेका छन् । त्यस्तै, कतारका श्रम सहचारी नरेन्द्र ज्ञवालीको पनि कार्यकाल सकिन लागेको छ । त्यस्तै, साउदी अरबका काउन्सेलर श्रम अम्बिकाप्रसाद अधिकारी र युएईका काउन्सेलर श्रम भेष बहादुर कार्कीको पनि अवधि सकिंदैछ ।
 
उपसचिव शिवराम पोखरेल यसअघि नै काउन्सेलर श्रमको प्रतिक्षा सूचीमा रहेका छन् । मन्त्रालयमा रहेका उपसचिव जीवन राई र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी निर्देशक निर्मला थापा काउन्सेलर श्रम पदका मुख्य प्रतिस्पर्धी हुन् । श्रम  सहचारीका रुपमा जान चाहने कर्मचारीको संख्या भने धेरै रहेको मन्त्रालय श्रोतले बतायो ।
 
धेरै कर्मचारीले छनौट प्रक्रिया कसरी अघि बढ्ला भनि विशेष चासो राखेका छन् । यसअघि काउन्सेलर श्रम र  श्रम सहचारी छान्दा आफू अनुकुलको श्रम सहचारी छनौट कार्यविधि बनाउने गरिएको भन्दै आकांक्षी कर्मचारीको गुनासो रहने गरेको थियो ।
 
४५ पूर्णांक रहने छनौट अंक भारमा जेष्ठता र अनुभवको २० अंक, अंग्रेजी भाषाको दक्षतालाई १० अंक,  विषय वस्तुको ज्ञान र पावरप्वाईन्ट प्रस्तुतिमा समान ५–५ अंक प्रदान गरिने व्यवस्था छ । कार्य सम्पादनमा मन्त्रालयका सचिवले ५ अंक प्रदान गर्ने गर्दछन् । सचिवले दिने ५ अंकमा प्रतिस्पर्धीहरुको विशेष चासो रहेको पाइन्छ । मन्त्रालयको प्रशासन, नीति योजना तथा अनुगमन  प्रमुखको नेतृत्वमा  श्रम सहचारी तथा काउन्सेलर सिफारिश समिति गठन हुने व्यवस्था छ । उक्त समितिमा सचिवले तोकेको अन्य महाशाखा प्रमुख  सदस्य र प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहने व्यवस्था छ । प्रशासन शाखाका उपसचिव नै प्रतिस्पर्धी भएमा अन्य महाशाखाका उपसचिव सदस्य सचिव रहने व्यवस्था छ ।
 
Published on: 9 February 2018 | Madhyanha 

Back to list

;