s

श्रम विभागमा अझै दलालको रजाइँ, पाँचजना पक्राउ

दलाल-विचौलियाविरुद्ध कठोर भएको जनाउ सरकारले दिए पनि श्रम तथा वैदेशिक रोजागर विभागमा भने अझै दलालकै रजगज छ । देशका विभिन्न स्थानबाट श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीले अझै पनि दलालको सहयोगबिना कर्मचारीबाट काम लिन नसक्ने गुनासो यथावत रहेको छ ।

सेवाग्राहीहरुले ठगिने क्रम नरोकिएको गुनासो गरेपछि पछिल्लो पटक प्रहरीले राजधानीका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको छ।  प्रहरीका अनुसार श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचल पुगेका सेवाग्राहीलाई दलालहरुले कार्यालयमा पसेर सिधै सेवा लिन नदिने गरेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार बिचौलिया र दलालहरुले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान रोक्ने गरेको र नक्कली भिषा कार्ड बनाउने गरेको गुनासो आएको थियो । सेवाग्राहीको गुनासोपछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट टोली परिचालन गरी कारबाही अघि बढाएको थियो । प्रहरी श्रम विभाग पुग्दा श्रम स्वीकृतिका लागि आएका इन्द्र बहादुर रजाली मगरको राहदानी नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको भेट्टाएको थियो ।

'विभागको जानकारी अनुसार मगरलाई र उनको राहदानी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनको कार्ड बनाउन गणेश कटुवालले सहयोग गरेको  खुलेको छ', बोगटीले भने, 'कटुवाललाई मित्रनगरस्थित मेचिकाली गेस्टहाउसबाट नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले कृष्ण प्रसाई बर्षा फोटो स्टुडियोले बनाइदिएको खुलेको छ ।'बोगटीका अनुसार कृष्ण प्रसाईलाई शनिबार मित्रनगरस्थित बर्षा फोटो स्टुडियोमा पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ।

Published on: 17 February 2019 । Annapurna Post

Back to list

;