s

श्रम ऐन अनुसार पारिश्रमिक नपाएको चिया मजदुरको गुनासो

झापामा चिया मजदुरले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको गुनासो गर्दै तत्काल श्रम ऐन लागू गर्नुपर्नेमा जोड दिएका छन् । २०७४ भदौ १९ गते जारी भएको श्रम ऐन कार्यान्वयनमा नआउँदा मजदुर मर्कामा परेको भन्दै यसतर्फ ध्यान दिन चिया मजदुरका नेताले सरोकारवालासँंग आग्रह गरेका छन् । 
 
संवाद समूहले झापाको विर्तामोडमा आयोजना गरेको छलफलमा नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया मजदुरहरू भोकभोकै मर्ने अवस्था रहेको भन्दै उनीहरूको परिवारको पीडा बुझ्न आग्रह गर्नुभयो । श्रम ऐन र सामाजिक सुरक्षा ऐन आए पनि कार्यान्वयन नहुँदा अहिले मजदुरहरू मर्नु न बाँच्नुको अवस्थामा रहेको उहाँको भनाइ छ । 
 
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको अगुवाइमा राष्ट्रिय चिया नीति २०५७ लाई समयसापेक्ष परिवर्तन गर्नुपर्नेमा जोड दिँदै त्यो नभएसम्म आफूहरू सधैँ अन्यायमा पर्ने उहाँको भनाइ थियो । नीति, नियम र ऐन बनेका छन् तर कार्यावयन नहुँदा आफूहरूको अवस्था विजोग भएको तामाङले बताउनुभयो । 
 
अखिल नेपाल चिया मजदुर सङ्गठनका नेता जगनाथ पौडेलले चिया मजदुरका समस्या राज्य र मालिकको सरोकारको विषय नबने जस्तो देखिएकाले आफूहरू सधैँ मारमा पर्ने गरेको बताउनुभयो । ऐन कार्यान्वयन भएमा मात्र पनि आफूहरूका धेरै समस्या हल हुने र माग पूरा हुने भन्दै राज्य गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो । 
 
देशभर करिब ५० हजार र झापा जिल्लामा मात्र ३० हजार चिया मजदुर रहेको जनाउँदै आफूहरूको माग सुनुवाइ नभएमा एकैपटक सडकमा आउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत उहाँले दिनुभयो । हामी आन्दोलनको पक्षमा रहेका छैनौँ तर बाध्य भएर आन्दोलनमा आउनुपर्ने अवस्था सिर्जना हुनुसक्छ, पौडेलले भन्नुभयो । 
 
श्रम ऐनमा मजदुरको स्वास्थ्य बीमा र दुर्घटना बीमाको व्यवस्था रहेको भए पनि अहिलेसम्म मजदुरले यो सुविधा पाउन सकेका छैनन् । श्रम ऐनमा वार्षिक एक लाखको स्वास्थ्य बीमाको व्यवस्था छ । यसमा बीमा शुल्क मजदुर र व्यवस्थापन पक्षले आधा–आधा व्यहोर्नुपर्ने तथा दुर्घटना बीमाअन्तर्गत सात लाखको बीमामा सबै बीमा शुल्क उद्योगी पक्षले व्यहोर्नुपर्ने व्यवस्था छ । 
 
अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का इञ्चार्ज भूपाल सापकोटाले चिया मजदुरका धेरै समस्या रहेको भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो । चिया मजदुरले २७८ रुपियाँ दैनिक ज्याला बुझ्दै आएको जनाउनुभयो । मजदुरले श्रम ऐन कार्यान्वयन भए दैनिक पाँच सय रुपियाँ ज्याला, थप दस प्रतिशत सञ्जय कोष र ८.३३ प्रतिशतको उपदान रकम पाउने व्यवस्था रहेकाले यो लागू भए चिया मजदुरको परिवारमा धेरै राहत हुने उहाँले जनाउनुभयो ।  
 
जिफन्ट प्रदेश १ का अध्यक्ष सन्तकुमार राईले चिया मजदुरले धेरै जोखिम मोलेर काम गर्ने तर ज्याला कम पाउने गरेको बताउनुभयो ।
 
Published on: 7 August 2018 | Gorkhapatra

Back to list

;