s

श्रम अदालतमा लक्ष्यभन्दा २७५ प्रतिशत बढी मुद्दा फर्स्याेट

श्रम अदालतले पछिल्लो समय मुद्दा फर्स्याेटलाई तीव्रता दिएको छ। जेठ र असारमा त लक्ष्यभन्दा बढी मुद्दा फर्स्याेट भएका छन्। श्रम अदालतका रजिस्ट्रार लालसिंह थापाका अनुसार अदालतले असार महिनामा साढे दुई सय प्रतिशतभन्दा बढी मुद्दा टुंग्याएको छ। गत वर्ष साउनमा साढे १२ प्रतिशत मात्र मुद्दा फर्स्याेट भएको थियो।

वैशाखसम्मको तथ्यांक हेर्दा लक्ष्यको ५० प्रतिशत पनि फर्स्याेट भएका छैनन्। तर, वैशाखपछिका दुई महिनामा भने लक्ष्य लिइएकोभन्दा निकै बढी मुद्दा श्रम अदालतले फर्स्याेट गरेको छ।

वैशाखमा २९ वटा मुद्दा फर्स्याेट गर्ने लक्ष्य लिइएकोमा २५ वटा फर्स्याेट भएका छन् । जेठ महिनामा भने ३२ वटा लक्ष्य रहेकोमा ५७ थान मुद्दा किनारा लागेका छन्, जुन लक्ष्यभन्दा एक सय ७८ प्रतिशत बढी हो।

यसैगरी, असारमा पनि ३२ मुद्दाको लक्ष्य रहेकोमा ८८ मुद्दा टुंगिएका छन्। यो लक्ष्यभन्दा दुई सय ७५ प्रतिशतले बढी हो। श्रम ऐन, २०७४ मा श्रम अदालत पनि उच्च अदालतसरह हुने उल्लेख छ। तीनसदस्यीय श्रम अदालतमा उच्चको बहालवाला वा यसको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिमध्ये एक अध्यक्ष र दुई सदस्य रहन्छन्।

Published on: 19 July 2022 | Naya Patrika

Link

Back to list

;