s

श्रममन्त्रीले मागे घुस

दिनेश रेग्मी

श्रम तथा रोजगारमन्त्री कुमार बेलवासेले म्यानपावर कम्पनी दर्ता गरिदिने भन्दै घूस मागेको प्रकरण सार्वजनिक भएको छ । मन्त्री बेलवासेले व्यवसायीको आवरणमा पुगेका 'भ्रष्टाचारविरुद्धको अभियान नेपाल' का प्रतिनिधिसँग पार्टीका लागि भन्दै रकम मागेका हुन् ।

नेकपा मालेका तर्फबाट मन्त्री बनेका बेलवासे पार्टी पोलिटब्युरो सदस्यसमेत हुन् । अभियानका प्रतिनिधिले मन्त्री बेलवासे र मध्यस्थकर्ताको भूमिकामा रहेका मालेका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इञ्चार्ज भाष्कर काफ्लेसँगको संवादको भिडियो रेकर्डिङ नै गरेका छन् । भिडियो रेकर्डिङमा रहेको संवादका क्रममा रकम दिएपछि काम हुने ग्यारेन्टी खोजिएपछि श्रममन्त्री बेलवासेले भनेका छन्, 'कुनै व्यक्तिलाई दिए फस्न सक्छ तर पार्टीले त उपयुक्त समयमा त्यसको स्लिप नै दिन्छ । सहयोगबिना त पार्टी चल्दैन । पार्टीले सहयोग लिन्छ नै ।'

म्यानपावर कम्पनीका नाममा बेथिति बढेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले मापदण्ड नबनाई नयाँ दर्ता बन्द गर्न निर्देशन दिएका थिए । त्यसपछि वैदेशिक रोजगार विभागले एक वर्षदेखि नयाँ म्यानपावर दर्ता गरेको छैन । तर भिडियो रेकर्डिङमा बेलवासेले भनेका छन्, 'दर्ता खुलाउने कुरामा हामी तयार छौं, प्रधानमन्त्री पनि तयार नै छन् ।' मन्त्रीले सहयोगबारे पार्टीसँग कुरा मिलेपछि दसैंअघि नै नयाँ कम्पनी दर्ता गरिदिने बचन दिएका छन् । मन्त्रीले आफू सबै पार्टीको जिम्मेवार मान्छे भएको र आफू त पोलिटब्युरो सदस्य नै भएकाले ढुक्क हुन व्यवसायीलाई आग्रह गरेका छन् ।

भिडियो टेपबारे प्रतिक्रिया माग्न खोज्दा मन्त्री बेलवासेले यतिमात्र भने, 'फटाहाहरूले फसाए ।' उनले मध्यस्थकर्ता काफ्ले वा पार्टीका अन्यलाई फटाहा भनेका हुन् वा कसलाई हो थप प्रतिक्रिया दिन नचाहेकाले प्रस्ट भएन । घूस प्रकरणमा मध्यस्थता गरेका काफ्लेले ९ वटा नयाँ कम्पनी दर्ताका लागि साढे २ लाख रुपैयाँका दरले २२ लाख ५० हजार मागेका छन् ।

व्यवसायीको आवरणमा पुगेका पदाधिकारीहरूले काफ्लेसँग सात पटक र मन्त्रीसँग एकपटक कुराकानी गरेका थिए, ती सबै भेटघाट र कुराकानीको दृश्य गोप्य क्यामेराबाट खिचिएको थियो । काफ्लेले साढे २ लाखमध्ये डेढ लाख पार्टीलाई र अन्य एक लाख मन्त्री, सचिव र आफूबीच बाँडफाँड हुने बताएका छन् । महानिर्देशक (डीजी) लाई पनि जान्छ कि भनेर सोध्दा काफ्लेले भनेका छन्, 'डीजीलाई दिँदैनौं, डीजीतिर टच नै गर्दैनौं ।'

'डेढ लाख सीधै पार्टीमा जान्छ । तपाईंहरूले पार्टी कार्यालयमै पूर्वभूमिसुधार मन्त्री र पार्टीको आर्थिक विभाग प्रमुख डम्बर श्रेष्ठलाई लगेर दिने हो । बाँकी एक लाखमध्ये म २० हजार खान्छु । खुलेरै खान्छु, तपाईंहरूलाई ढाँटेर खान्नँ,' काफ्लेले टेपमा भनेका छन्, 'अलिअलि सचिवलाई चटाउनुपर्छ र बाँकी मन्त्रीको भागमा जान्छ । तर मन्त्री र हामीले खाने एक लाखको कुरोचाहिँ गोप्य रहनुपर्छ । तपाईंहरूले मन्त्रीलाई पनि यति दियौ भन्नुभयो भने पार्टीसँग सम्बन्ध बिग्रिन्छ ।'

रकम दिनेजतिलाई मन्त्रीको अगाडि लगेर हाम्रो पार्टीलाई सहयोग गर्ने अनुहार यिनै हुन्, कम्पनी यिनै हुन् भनेर चिनाइने काफ्लेले बताएका छन् । तर व्यवसायीको आवरणमा पुगेकाले मन्त्रीले काम हुने बचन दिएमात्र पैसा दिन सकिने अडान राख्छन् । त्यसपछि काफ्लेले छानिएका तीन प्रतिनिधिलाई मन्त्रीसमक्ष नै पुर्‍याएर काम हुने सम्बन्धमा आश्वस्त पार्छन् । कम्तीमा ४० नयाँ कम्पनी पुर्‍याउने लक्ष्य रहेको र आफ्नै सम्पर्कमा १४/१५ जना आएको उनले जनाएका छन् । साथै ५/६ जना वकिलमार्फत पनि आएको उनले उल्लेख गरेका छन् । तर वकिलले प्रतिकम्पनी ५ लाख उठाएर आधा रकम आफैं खान खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

काफ्लेले आश्वस्त पार्ने क्रममा पटक-पटक आफू मालेको केन्द्रीय सदस्य भएको परिचयपत्र देखाएका छन् । उनले आफू संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रत्यासी रहेको र पार्टीको विद्यार्थी संगठनको पूर्वअध्यक्षसमेत भएको प्रस्ट्याएका छन् । पार्टी नीतिअनुरूप नै रकम उठाइएको र पार्टीको निर्देशन मान्न मन्त्री बाध्य हुने उनले बताएका छन् । 'खासमा हामी सरकारविरोधी हो । हामी सरकार छाड्ने पक्षमा थियौं । पार्टीको नीति त यो सरकार अवैध हो भन्ने नै हो । मन्त्रीले केहीअघि राजीनामा दिन पनि खोजेका थिए,' काफ्लेले भनेका छन्, 'तर यही नयाँ कम्पनी दर्ता, इजरायलमा कामदार पठाउन खुला गर्नेजस्ता काम गर्नकै लागि सरकारमा बसेका हौं । पार्टीको भवन बन्दैछ । पार्टीले मन्त्रालय लिइसकेपछि केही होस् भन्ने अपेक्षा गर्छ । अन्तबाट आउँदैन, यही मन्त्रालयबाटै उठाउने हो ।'

नयाँ कम्पनी खुलाउन आफूले नै सक्रिय भूमिका खेलेको र त्यसका लागि सीपी मैनाली, मन्त्री बेलवासे, पूर्वमन्त्री श्रेष्ठसँग बसेर योजना बनाएको काफ्लेले दाबी गरेका छन् । 'माले सरकारमा भएका बेलामा कम्पनी दर्ता खुल्यो भनेर पार्टीको हाईहाई हुन्छ,' उनले भनेका छन्, 'यसमा मेरो स्वार्थ पनि छ । किनकि म भोलि चुनाव लड्छु । त्यसबेला पनि म तपाईंहरूसँग १५/२० हजार माग्छु ।' काफ्लेको मोबाइल स्विच अफ भएकाले प्रतिक्रियाका लागि पटक-पटक गरिएको सम्पर्क सफल भएन ।

Published  on: 20 October 2012| Kantipur Daily

Back to list

;