s

शोषणरहित वैदेशिक रोजगार

सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको आकस्मिक तथा नियमित अनुगमन गर्ने व्यवस्थासहितको ‘अनुगमन टोली परिचालन कार्यविधि–२०७६’ शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीको नाममा शोषण र ठगी बढेको सन्दर्भमा सरकारले यो कार्यविधि ल्याएको हो । वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रयासस्वरूप सरकारले विभिन्न प्रयास गरिरहेको छ । विभिन्न मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नुका साथै निःशुल्क भिसा र हवाई टिकटको व्यवस्था धेरै गन्तव्य मुलुकमा लागू भइसकेको छ । सम्झौताअनुसारको काम, तलब, सुविधा, बीमालगायतका समस्या समाधानमा पनि सरकार गम्भीरताका साथ लागिरहेको छ । वैदेशिक रोजगारीलाई शोषणरहित बनाउन पछिल्लोपटक म्यानपावर कम्पनीको अनुगमनका लागि ‘अनुगमन टोली परिचालन कार्यविधि’ लागू गरेको हो । विगतमा अनुगमन गर्दा विभिन्न कानुनी र प्रक्रियागत समस्या आउने गरेका कारण ती समस्या समाधान गर्न यो कार्यविधि ल्याइएको हो । यो कार्यविधि म्यानपावर कम्पनीको अनुगमनलाई सशक्त बनाउन सहयोगी हुनसक्छ । कार्यविधिमा वैदेशिक रोजगार विभागका महानिर्देशककै निर्देशन वा प्रत्यक्ष रेखदेखमा आकस्मिक तथा नियमित अनुगमन गर्न सकिने व्यवस्था छ । कुनै पनि दिन नियमित वा आकस्मिक अनुगमन गर्न सकिनेछ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न र वैदेशिक रोजगारीसम्बन्धी गैरकानुनी कार्य नियन्त्रण गर्न यस्तो कार्यविधि आवश्यक ठानिएको हो । गैरकानुनी रूपमा रकम लेनदेन, कागजत तयारी वा अन्य क्रियाकलाप भइरहेको भन्ने लिखित वा मौखिक उजुरीमा वा विभागले आवश्यक ठहर गरे पनि महानिर्देशकले अनुगमन टोली परिचालन गर्न सक्ने अधिकार कार्यविधिले दिएको छ ।

वैदेशिक रोजगारीबाट वैदेशिक मुद्राको प्राप्तिमा सहयोग पुगेको छ । विप्रेषणले विगत १० वर्षदेखि अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको छ । वैदेशिक रोजगारीले विदेशी मुद्राको प्राप्ति र सञ्चितिमा सहयोग पु¥याउनुका साथै वैदेशिक रोजगारीमा गई फर्किने नेपालीबाट ज्ञान, सीप र अनुभव हस्तान्तरणले उद्यमशीलता विकासमा सहयोग पुगेको छ । प्रत्येक वर्ष करिब पाँच लाख जनशक्ति श्रमबजारमा प्रवेश गर्छन् । यो नयाँ जनशक्तिका लागि आवश्यक पर्ने पर्याप्त रोजगारी तथा स्वरोजगारीका अवसर मुलुकभित्र सिर्जना नभएको वैदेशिक रोजगारी बाध्यता बनेको छ । वैदेशिक रोजगारी विप्रेषणको स्रोत बनेका भए पनि यसभित्र पीडा र बेथिति धेरै छ । सम्झौताअनुसारको काम, सुविधा र पारिश्रमिक नपाउने समस्या जटिल छ ।

हालसम्म करिब ४४ लाख वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारी बाध्यता हो । वैदेशिक रोजगारीका सिलसिलामा हुने दुःख, शोषणको अन्त्यका लागि स्वदेशमै रोजगारी सिर्जना मात्रै दिगो र भरपर्दाे समाधानको उपाय हो । यसका लागि स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्नुका साथै आवश्यकता र माग अनुसारको जनशक्ति विकास गर्नुपर्छ तर स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न समय लाग्ने भएकाले अहिले वैदेशिक रोजगारीका बेथिति र शोषण न्यूनीकरण गर्नुपर्छ । यसका लागि थप गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्नुका साथै वैदेशिक रोजगारीबाट सिर्जित समस्या कम गर्नुपर्छ । वैदेशिक रोजगारीमा जानेमध्ये ९९ प्रतिशत जति अदक्ष र अर्धदक्ष कामदार छन् । वैदेशिक रोजगारी, गन्तव्य, गर्नुपर्ने कामबारे थाहा नभएका व्यक्ति नै बढी शोषणमा पर्ने गरेका छन् । लोभ, अज्ञानका कारण शिक्षित व्यक्ति पनि ठगिने गरेका छन् ।

सरकारले पाँच वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गरिसकेको छ । यसका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु जरुरी छ । अहिले वार्षिक एक लाखको हाराहारीमा रोजगारीका अवसर सिर्जना भइरहेका छन् । सन् २०३० सम्ममा ६८ लाख रोजगारीका अवसर सिर्जना नगरे सहस्राब्दी विकास लक्ष्य हासिल हुन नसक्ने देखिएको छ । यसको अर्थ वार्षिक छ लाखभन्दा बढी रोजगारीका अवसर सिर्जना हुनुपर्छ । यसका लागि उत्पादनशील क्षेत्र विस्तार गर्नुका साथै बजारको माग अनुसार जनशक्ति विकास गर्नुपर्छ । देशभित्रै उत्पादनशील र मर्यादित रोजगारीका अवसर विस्तार गर्नुका साथै औद्योगिक सम्बन्धमा सुधार आउनुपर्छ । मुलुकभित्र विद्यमान सबैप्रकारका श्रमशोषण अन्त्य गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुपर्छ । 

Published on: 8 Aug 2019 | Gorkhapatra

Back to list

;