s

शिवजी यादवविरुद्ध किटानी जाहेरी दर्ता : कुटपिट, ठगी र बेपत्ता पारेको आरोप

दर्तामा ढिलाइ हुँदा यादव फरार

मुसहर समुदायमाथि आर्थिक र श्रम शोषण गर्दै आएका सिरहा औरही गाउँपालिका– ५ का शिवजी यादवविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । शिवजीसहित उनका साला भागवत यादव र मामाका छोरा रामबाबु यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिराहामा किटानी जाहेरी दिएका हुन् ।

तर, प्रहरीले पाँच दिनपछि मात्रै औपचारिक रूपमा जाहेरी दर्ता गरेको छ । जाहेरी दर्तामा विलम्बसँगै शिवजी फरार भएका छन् । पीडितले किटानी जाहेरी दिएपछि पनि ‘अनुसन्धान गर्दै छौँ’ भन्दै प्रहरीले दर्तामा आलटाल गरेको थियो ।

औरही– ४ इँटाटार गाउँक महेश सदा, ५३ वर्षीया फुलोदेवी सदा, ४७ वर्षीय रामचन्द्र सदा र ४५ वर्षीय भरोसी सदाले १६ भदौमा छुट्टाछुट्टै कुटपिट, बेपत्ता र ठगीको किटानी जाहेरी दिएका थिए । तर, किटानी जिल्ला प्रहरी कार्यालयमा आइतबार मात्रै दर्ता भएको छ । शिवजीले मुसहर समुदायका युवालाई कामका लागि भारत लैजाने, थोरै तलब दिने र कपाली तमसुक बनाएर ठग्ने गरेको पीडितहरूले बताउँदै आएका छन् ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको दबाबमा प्रहरीले जाहेरी दर्तामा ढिला गरी शिवजीलाई फरार गराएको पीडितको आरोप छ । तर, सिराहा प्रहरीले किटानी जाहेरी दर्ता गरेकोबाहेक अन्य विषय सार्वजनिक गर्न नमिल्ने बताएको छ ।

‘ऐनले गरेको व्यवस्थाअनुरूप प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ, प्रतिवादीलाई पक्राउ गर्न अदालतबाट अनुमति लिने, पक्राउ गर्नेजस्ता काम आन्तरिक रूपमा भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले भने । पीडितले शिवजी भारत पुगेको दाबी गरेका छन् ।

शिवजीलाई संरक्षण गर्दा पार्टीको छवि बिग्रने भन्दै जनता समाजवादीका धेरै नेता कारबाहीको पक्षमा उभिएका छन् । स्थानीय चुनावमा तत्कालीन समाजवादी पार्टीबाट औरही गाउँपालिकाको अध्यक्षका प्रत्याशी शिवजी ६ मतले पराजित भएका थिए । हाल उनी जनता समाजवादीका जिल्ला नेता हुन् ।

यसअघि पीडितले ७ भदौमा शिवजीसहित उनका साला भागवत र मामाका छोरा रामबाबुविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ठाडो उजुरी दिएका थिए । फुलोदेवीले २० वर्षीय छोरा रामभजनलाई पन्जाब पु¥याएर शिवजीले बेपत्ता पारेको बताएकी छिन् । पछिल्लोपल्ट ०७५ को असोजमा पुनः पन्जाब लगिएका रामभजन उतै बेपत्ता छन् ।

Published on: 7 September 2020 | Naya Patrika

Link

Back to list

;