s

सीपले बढाउँछ आम्दानी

वैदेशिक रोजगार विभागको तथ्यांकले चैतसम्ममा औपचारिक रूपमा कामका लागि बिदेसिएकाहरूको संख्या करिब २७ लाख छ । गत वर्ष वैदेेशिक रोजगारीमा रहेका नेपालीले झन्डै ३ खर्ब ६० अर्ब रुपैयाँ पठाए । यसले प्रत्येक नेपालीले आफ्ना परिवारलाई गत वर्ष करिब १ लाख ३३ हजार ३ सय रुपैयाँ पठाएको देखाउँछ । अर्थात सरकारी तथ्यांकलाई पत्याउने हो भने मासिक करिब ११ हजार १ सय रुपैयाँ कमाउनकै लागि नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ ।

जानकारहरूका अनुसार बिदेसिनेहरूको संख्याको अनुपातमा नेपाल भित्रिने रेमिट्यान्स निकै कम छ । अदक्ष कामदार भएकैले धेरै रकम नआएको उनीहरूको अनुमान छ ।

विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा गएका ७४ प्रतिशतभन्दा बढी अदक्ष छन् । १२ प्रतिशत अर्धदक्ष दक्ष छन् । करिब २ प्रतिशत मात्र उच्च दक्ष छन् । 'धेरै नेपाली अदक्ष कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका छन्,' विभागका निर्देशक दिवस आचार्य भन्छन् । यो नै रेमिट्यान्स ज्यादै कम हुनुको प्रमुख कारण हो ।

शिक्षा प्रणाली सैद्धान्तिक बढी, व्यावहारिक र व्यावसायिक कम भएका कारण कामका लागि दक्ष जनशक्ति उत्पादन हुन नसक्दा नेपाल अदक्ष कामदार आपूर्ति गर्ने राष्ट्र बनेको हो ।

'नेपालमा सीप भएका मानिस नै ज्यादै कम छन्,' वैदेशिक रोजगार संघका अध्यक्ष बलबहादुर तामाङ भन्छन्, 'त्यही भएर ८० प्रतिशत लेवर -अदक्ष) भिसामा वैदेशिक रोजगारीमा गएका छन् ।'

तामाङजस्ता व्यवसायी वैदेशिक रोजगारीलाई व्यवस्थित बनाई रेमिट्यान्स बढाउन सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षालाई अभियानका रूपमै सञ्चालन गर्नुपर्ने बताउँछन् ।

सरकारले सञ्चालन गर्ने व्यावसायिक तथा प्राविधिक प्रशिक्षण पर्याप्त छैन्् । व्यावसायिक सीप विकास तालिम केन्द्रलगायत सरकारी निकायबाट वाषिर्क करिब १ लाख मानिसले मात्र जसोतसो व्यावसायिक प्रशिक्षण पाउँछन् तर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वाषिर्क ४ लाख नाघिसकेको छ । 'व्यावसायिक तथा प्राविधिक शिक्षा प्राप्त गर्ने र वैदेशिक रोजगारीमा जानेका संख्यामा तालमेल मिलिरहेको छैन,' आचार्य भन्छन्, 'यस विषयमा नीतिगत व्यवस्था गर्ने प्रयास भइरहेको छ ।'

दक्ष बनाएर मात्र वैदेशिक रोजगारीमा पठाउने हो भने र नेपाललाई दक्ष कामदार पाइने राष्ट्रको रूपमा 'ब्रान्डिङ' गर्ने हो भने रेमिट्यान्स बढ्नेमा शंका छैन । आचार्य पनि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने स्विकार्छन् । स्वदेशमै रोजगारीका लागि आफ्ना नागरिकलाई व्यावसायिक सीप सिकाई दक्ष बनाउनु सरकारको दायित्व हो ।    

वैदेशिक रोजगारीमा गएका हरेक नागरिकले हरेक महिना कति रकम पठाइरहेका छन् भन्ने अनुमान मात्र गर्न सकिएला । तर उनीहरूले महिनाको करिब ११ हजार रुपैयाँ मात्र पठाएको सरकारी तथ्यांकमा भने विश्वास गर्न सकिन्न । 'सस्तो भएकाले ठूलो रकम गैरकानुनी रूपमा हुन्डीबाट आउँछ जसको तथ्यांक राष्ट्र बैंकसँग हुँदैन,' तामाङ भन्छन् । त्यसबाहेक अदक्ष भिसामा गए पनि वैदेशिक रोजगारीमा गएका करिब ४० प्रतिशत मानिस दक्ष रहेको उनको दाबी छ । 'हुन्डीसरह विदेशबाट पैसा पठाउन सस्तो गरिदिने हो र कामदारलाई प्रशिक्षण दिएर मात्र वैदेशिक रोजगारीमा पठाउने हो भने रेमिट्यान्स धेरै बढ्छ,' उनी भन्छन् ।

Published on: 12 April 2013 | Kantipur

Back to list

;