s

'सीप सिकेर जाऊ'

अवधेशकुमार झा
  
'सीप सिकेर नगए वैदेशिक रोजगारी मरेतुल्य हुन्छ,' डाढा २ का घुरनरामले आफ्नो अनुभव सुनाए, 'सीप सिकेर नगएका दाजुभाइको बिजोग हेर्दा स्वदेशमै किन नबसेको जस्तो लाग्थ्यो।'
 
स्वदेशमा रोजगारीको अभाव र राजनीतिक अस्थिरतालगायत कारणले पछिल्ला वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या हात्तै बढे पनि रोजगारीमा गएकाहरूले पाएको दुःखकष्ट भने कहालीलाग्दो छ। 'सुरुमै एजेन्टले ठग्छन्, त्यसमा पनि अर्काको देशमा गएर अलपत्र पर्नुपर्छ,' केही महिनाअघि मलेसियाबाट आएका घुरनले भने, 'हातमा कुनै सीप नभएकाहरूका लागि त विदेश नारकीय छ।'
 
डाढा २ का अर्का युवा सागर साहको अनुभव पनि उस्तै छ। मलेसियामा रोजगारी गरी फर्केका उनले भने, 'सीप सिकेर नजाँदा निकै दुःख पाइयो। एजेन्टको भर परेर गएको थिएँ, राम्रो तलब दिन्छ भन्यो तर मलेसियाको एयरपोर्टबाटै दुःखको पहाड आयो।' 
 
उनी एयरपोर्टमै अलपत्र परंे। कोही लिनै आएनन्। सुरक्षाकर्मीको अभद्र व्यवहार २४ घण्टा सहें। 'एजेन्टलाई फोन गर्दा स्विच अफ थियो। म्यानपावरमा फोन गर्दा रिसिभ भएन। अर्काको ठाउँ, भाषा पनि नबुझेकाले धेरै समस्या भयो,' उनले भने।
 
एक दिनपछि आफूहरूलाई लिन एक जना व्यक्ति आएको र उनले कारागारजस्तो एउटा कोठामा २५ जनालाई कोच्याएर राखेको साहले सुनाए। 'मृत्युबाहेक सबै दुःख झेलें,' उनले भने, 'जसोतसो बसेर एक वर्ष लगाएर घर फर्केर एजेन्टसित पैसा फिर्ता लिएँ।'
 
एक पटक ठगिएका सागरको दोस्रो पटकको रोजगारी यात्रा त झन् दर्दनाक छ। दुबईको एक होटलमा काम छ भन्दै एजेन्टले पठाएको थियो। त्यहाँ पुगेपछि मात्र थाहा पाएँ, आफ्नो भिसा, श्रम स्वीकृतिलगायत सबै कागजात त नक्कली रहेछन्। 'पहिलोपटक मलेसियामा सुरक्षाकर्मीको अभद्र व्यवहार सहेको थिएँ, दोस्रोपटक त एयरपोर्टमै थुनिएँ,' उनले विगत सुनाए।
 
डाढा ५ का अब्दुल रहमान पनि तीन पटक वैदेशिक रोजगारीमा गएर आइसकेका छन्। उनलाई पनि रोजगारीमा जाँदा पर्नुसम्म दुःख पर्‍यो। 'यहाँबाट राम्रो कम्पनीमा काम छ भनेर पठाएका थिए,' रहमानले भने, 'त्यहाँ पुग्दा त दैनिक ज्यालादारीमा पो काम गर्न भन्यो। त्यसैमा तलब थोरै, खान, बस्न आफंै तिर्नुपर्ने बाध्यता आयो।'
 
काम गर्न नसकेर बिरामी पर्दा पनि कसैले उपचारको व्यवस्था नगरिदिएको दुःखेसो उनले गरे। सप्तरीको डाढा मात्र होइन जिल्लाका विभिन्न गाविसबाट रोजगारीमा जानेहरूको पीडा यस्तै छ। 'सीपबिना त्यहाँ काम छैन,' तोपाका अशोककुमार यादवले भने, 'सीप सिकेर गए राम्रो। नभए आफ्नै देशमा कमाइ गरे बेस।'
 
एजेन्टको ठगाइदेखि म्यान पावरको जबर्जस्तीसम्म झेलेर विदेश पुगे पनि त्यहाँ हातमा सीप नहुनेलाई धेरै दुःख हुने गरेको रोजगारीबाट फर्केका तोपाकै अर्का युवा रमेश दासको भनाइ छ। रोजगारीमा विदेश जानेहरूका लागि सूचना तथा जानकारी दिन जिल्लास्तरमा सूचना डेस्क, हेल्प डेस्क रहे पनि ग्रामीण क्षेत्रका युवाहरू त्यसबारे जानकार छैनन्। 
 
यस्तै विभिन्न संघसंस्थाले निःशुल्करूपमा सीप सिकाउने तालिम दिने गरे पनि त्यसबारे पनि रोजगारीमा जाने धेरै युवा अनभिज्ञ नै छन्। स्थानीयस्तरमा चेतनाको अभाव, सरकारी संयन्त्रले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनेतर्फ स्थानीयस्तरमा पहल गर्न नसक्नु र जानुअघि सबै कुरा बुझेर नजाने गरेका कारण समस्या सिर्जना हुने गरेको राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी मिडिया डेस्कमा काम गरिरहेका चन्दन यादवले बताए।
 
Published on: 15 September 2016 | Kantipur

Back to list

;