s

सीप सिकेर विदेश जानेहरु बढे, ४० प्रतिशत अझै अदक्ष

१३ मंसिर, काठमाडौं । पछिल्ला वर्ष वैदेशिक रोजगारीमा सीप सिकेर जाने क्रम बढेको छ । २०७८ देखि हालसम्म श्रम स्वीकृति लिएर १५ लाख ६८ हजार श्रमिक विदेश गएकामा सीप सिकेर जानेको संख्या १० लाख दुई हजार रहेको छ । जुन कुल संख्याको ६४ प्रतिशत हाराहारी हो । यद्यपि यो संख्या सन्तोषजनक मान्न नसकिने सरोकारवालाले बताएका छन् ।

सीप सिकेर जानेमध्ये सामान्य सीपमात्र सिक्ने ५५ प्रतिशत, सीप सिकेर अर्धदक्ष बन्ने ८.२ प्रतिशत, व्यवसायिक सीप सिक्ने ०.१३ प्रतिशत र उच्च दक्षको संख्या ०.०२ प्रतिशत छ । विगतमा सामान्य सीप पनि नसिकी जानेहरु धेरै हुने गरेकामा पछिल्ला वर्ष सामान्य सीप भए पनि सिक्ने क्रम बढेको विभागको भनाइ छ ।

आर्थिक वर्ष ०७९/०८० मा ७ लाख ७१ हजार श्रमिक वैदेशिक रोजगारीमा गएकामा २ लाख २ हजार ६१६ अदक्ष थिए । त्यस्तै सामान्य सीप सिकेर जाने ५ लाख ६ हजार ७४६, अर्धदक्ष बन्ने ६० हजार ५५५, व्यवसायिक सीप सिक्ने १ हजार १५३ र दक्ष जनशक्ति २५७ जना थिए ।

पछिल्लो समय सीप सिकेर जानुपर्छ भन्ने चेतना बढ्दै गएको विभागका महानिर्देशक मदन दाहाल बताउँछन् । ‘विश्व श्रम बजारमा दक्ष जनशक्तिको माग पनि बढिरहेको छ, त्यसैले वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर जानुपर्ने अवस्था सिर्जना भएको छ’, उनले भने ।

त्यस्तै सीप सिकेर गएमा काम गर्ने क्रममा सुरक्षित भइन्छ र कमाइ बढी हुन्छ भन्ने चेतना पनि बढेको दहालको भनाइ छ । ‘कुनै पनि श्रमिकले सीप सिकेर जाँदा उसको मात्र आम्दानी बढेको हुँदैन, त्यसको लाभ मुलुकले पनि पाइरहेको हुन्छ’, उनले भने ।

नेपालले वैदेशिक रोजगारीका लागि विश्वका १११ मुलुक खुला गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरुका अनुसार वैदैशिक रोजगारीमा सीप सिकेर जादा राम्रो काम र सेवा सुविधा पाइन्छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार बिना सीप विदेश जाँदा बढी जोखिम हुन्छ । ‘हातमा सीप नभएर गएकाहरुले श्रम पनि उत्तिकै कडा र जोखिमपूर्ण गर्नुपर्छ । त्यति गर्दा पनि कमाइ राम्रो हुँदैन ।’वैदेशिक रोजजारीमा मृत्यु हुने र अंगभंग हुनुको अधिक कारण पनि सीप बिना नै जानुलाई प्रमुख मानिन्छ ।

रोजगारदाताले पनि सीप सिकेकै खोज्छन्

वैदेशिक रोजगारीमा जाने करिब ८० प्रतिशत नेपाली खाडी मुलुक र मलेसिया जान्छन् । विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकामा मलेसियामा दुई लाख ५९ हजार, कतारमा एक लाख ८४ हजार, संयुक्त अरब इमिरेट्स (यूएई) मा एक लाख १२ हजार ७७७ साउदी अरेबियामा एक लाख १२ हजार र कुवेतमा ४३ हजार ५०७ जना गएका थिए ।

खाडी मुलुक र मलेशियामा पनि सीप सिकेका जनशक्ति माग हुन थालेको वैदेशिक रोजगारी व्यवसायी सघंका अध्यक्ष भण्डारी बताउँछन् । ‘प्रविधिको प्रयोग र विकासक्रमले श्रमको प्रकृति फेरिन थालेको छ’, उनले भने, ‘यसको प्रत्यक्ष असर श्रम बजारमा पर्न थालेको छ । खाडीमै पनि अहिले शिक्षित र सीपयुक्त जनशक्तिको माग बढ्न थालेको छ ।’

हालसम्म सीपयुक्त जनशक्ति पूर्वी युरोपका देश रोमानिया, क्रोएशिया आदि देशमा जाने गरेका छन् ।

यद्यपि पछिल्लो तीन वर्षमा १५ लाख ६८ हजार नेपाली श्रम स्वीकृति लिएर विदेश जाँदा ५ लाख ६६ हजार जना भने सीप नसिकी गएको पाइएको छ । सीप सिकेर जानेको संख्या बढे पनि अहिलेको संख्या पर्याप्त नभएको अध्यक्ष भण्डारी बताउँछन् ।

‘राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय बजारमा माग अनुसारको जनशक्ति उत्पादन बढाउन ध्यान दिनुपर्छ’, उनी भन्छन् ।

कोरोना महामारीका बेला घटेको विदेश जाने क्रम पछिल्लो ३ वर्षमा लगातार बढिरहेको छ । आर्थिक वर्ष ०७७/७८ मा ७२ हजार ८९ जना मात्र बिदेश गएकामा ०७८/७९ मा ६ लाख ३० हजार र ०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना बिदेश गएका विभागको तथ्यांक छ ।

Published on: 29 November 2023 | Onlinekhabar

Link

Back to list

;