s

सीप मेला ०८१ : तालिमका लागि ६८ हजार ८६६ को आवेदन

नि:शुल्क सीपमूलक तालिम लिनका लागि काठमाडौं महानगरपालिकामा निवेदन दिनेको संख्या ६८ हजार ८६६ जना पुगेका छन् । आवेदनकमध्ये ४३ हजार ५८ जनाले ‘सीप मेला’बाट तालिम लिन आवेदन दिएका छन् ।

दुई हजार ८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित महानगरपालिकाले टुँडिखेलमा ‘सीप मेला’ कार्यक्रम आयोजना गरेको छ । यहाँ १० क्षेत्रका ३० वटा पेसासँग सम्बन्धित तालिम सञ्चालन भइरहेको छ । तालिममा सहभागी हुन चाहनेले आवेदन दिन सक्ने महानगरले जनाएको थियो । १९ वैशाखदेखि तालिमका कक्षा सञ्चालन भइरहेका छन् । यस्तै, ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत चालू आर्थिक वर्षमा १५ हजार जनालाई नि:शुल्क तालिम प्रदान गर्ने र तालिम लिएकामध्ये पाँच हजारजनालाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने महानगरको लक्ष्य छ ।

‘अनलाइन र भौतिक उपस्थितिमा समेत आवेदन प्राप्त भएको छ,’ सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भने, ‘यस्ता आवेदकहरूलाई नाम थर, मोबाइल नम्बर, नागरिकता नम्बर, ठेगानाजस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ ।’ उनका अनुसार सीप मेलाको तालिममा सहभागी गराउन आवेदन दिएका, तर त्यहाँ समावेश गर्न नसकिएका आवेदकलाई ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिममा सहभागी गराइनेछ । यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेसासँग सम्बन्धित तालिम छन् । हरेक वडाबाट एक सयजनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ ।

एकै दिन चार हजारले भरे फाराम

सीप मेला सुरुकै दिन १९ वैशाखमा टुँडिखेल आएका सहभागीहरूको ठूलो संख्याले प्रशिक्षण अवसरका लागि फाराम भरेका थियो । त्यस दिन चार हजार १८२ जनाले फाराम भरेका थिए । त्यसअघि पनि सात हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको महानगरले जनाएको छ । २० देखि ३० वैशाखसम्ममा थप १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको थियो । ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् ।यसअघि साइबर सेक्युरिटी तालिमका लागि आह्वान गरिएको आवेदन मागमा आठ हजार ८८५ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका हुन् । अन्यले विभिन्न विषयका आवेदन दिएका थिए । ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारी भएका, तर सीप नभएकाहरूको व्यावसायिक स्तरवृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको उद्देश्य रहेको महानगरले जनाएको छ ।

सीप मेलाको संघीय सरकारका श्रम र रोजगारसँग सम्बन्धित मन्त्रालय र विभाग, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरू, निजी, गैरसरकारी तथा वाणिज्य क्षेत्रमा पदाधिकारीहरूले अवलोकन गरिरहेका छन् । हालसम्म धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), दैलेखको नारायण नगरपालिकाका प्रमुख लोमन शर्मासहित स्थानीय तहबाट जनप्रतिनिधि र रोजगार संयोजकसहित कर्मचारीहरूले मेलाको अवलोकन गरेका छन् । यस्तै, संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, निजी उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिले समेत अवलोकन गरेका छन् ।

Published on: 16 May 2024 | Naya Patrika

Link

Back to list

;